इटहरीःसुनसरीको धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान अन्तर्गतको कोभिड उपचार केन्द्रमा उपचाररत एक जना कोरोना संक्रमितको ज्यान गएको छ ।

मृत्यु हुनेमा महोत्तरीको बर्दिबास नगरपालिका २ घर भएकी २२ वर्षीया महिला रहेको प्रतिष्ठानका सहप्रवक्ता डा.आशिष श्रेष्ठले बताए । उनका अनुसार जनकपुरस्थित जनकपुर सिटी अस्पतालमा सुत्केरी भएकी महिलामा गम्भीर प्रकृतिको मानसिक समस्या इक्लाम्सिया देखिएपछि मंसिर २ गते थप उपचारका लागि बीपी प्रतिष्ठान रेफर गरिएकोमा सोही दिन उनीमा कोरोना संक्रमण पुष्टि भएपछि कोभिड उपचार केन्द्रमा आइसोलेसनमा राखी उपचार थालिएको थियो ।

केन्द्रमा भर्ना गरिएको १२ दिनपछि आज बिहान २ः५० बजे उपचारका क्रममा महिलाको ज्यान गएको सहप्रवक्ता श्रेष्ठले बताए ।