इटहरीः कोभिड–१९का कारण यो साता थप ६ जना गैरआवासीय नेपालीको ज्यान गएकोे छ ।

योसँगै कोरोना भाइरसको संक्रमणबाट मृत्यु हुने गैरआवासीय नेपालीको संख्या दुई सय ९९ जना पुगेको छ । हालसम्म विभिन्न १९ मुलुकमा रहेका नेपालीको मृत्यु भएको हो । गैरआवासीय नेपाली संघ अन्तर्गतको स्वास्थ्य समितिका अनुसार यो साता साउदी अरबमा चार जना, पोर्चुगलमा एक जना र युकेमा एक जना नेपालीको कोरोना भाइरसका कारण मृत्यु भएको हो ।

स्वास्थ्य समितिका संयोजक डा.सन्जीव सापकोटाका अनुसार यो साता जापान, युके, स्पेन, साइप्रस, रोमानिया, कतार, यूएई र साउदी अरबमा रहेका नेपालीमा कोरोना संक्रमण देखिएको छ । शनिबार साँझसम्म विभिन्न ४५ मुलुकमा ४७ हजार ५ सय ८३ जना गैरआवासीय नेपाली संक्रमित भएकोमा हालसम्म ४३ हजार ५ सय ७४ जना कोरोना संक्रमणबाट मुक्त भएका हुन् । यो कुल संक्रमितमध्येको ९१ प्रतिशत रहेको छ ।

हालसम्म नेपालमा कोरोना संक्रमणमुक्त हुनेको कुल संख्या २ लाख ११ हजार १ सय ८६ पुगेको छ । तीमध्ये २ लाख ३० हजार ७ सय २३ जना कोरोना मुक्त भएका छन् । नेपालमा कोरोना संक्रमणबाट मुक्त हुनेको संख्या ९२ दशमलव ५ प्रतिशत रहेको छ । नेपालमा कोरोना भाइरसको संक्रमणको कारणले १ हजार ४ सय ५४ जनाको ज्यान गएको छ ।