चैनपुरः संखुवासभाको चैनपुर नगरपालिका वडा नम्बर ९ को थालेडाँडामा रहेको शारदा माध्यमिक विद्यालयको पढाइ आज आइतबारबाट सुरु भएको छ ।

कोरोना महामारी रोकथामको लागि नेपाल सरकारले लागु गरेको लकडाउनयता बन्द रहेको यो विद्यालय आइतबारबाट सुरु भएको हो । अन्य विद्यालयहरुले भर्चुअल माध्यम (जुम तथा अन्य एपहरु)बाट पढाइ सञ्चालन गर्दै आएको भए पनि यो विद्यालयले पढाइ सुरु गर्न सकेको थिएन ।

नगरको शिक्षा शाखाले नै स्वास्थ्य सुरक्षाका मापदण्द पुरा गरेर विद्यालय खोल्न निर्देशन गरेपछि यो विद्यालयको पठनपाठन सुरु भएको हो । कक्षा १० सम्म पढाई हुने यस विद्यालयमा झण्डै पाँच सय विद्यार्थीहरुले अध्ययन गर्दै आएका छन् । लकडाउनपछि विद्यालय खुलेको पहिलो दिन भए पनि विद्यार्थीहरुको उत्साहजनक उपस्थिति रहेको पाइएको छ ।