इटहरीः आज देशभर एक हजार दुई सय ५५ जना नयाँ कोरोना संक्रमितको पहिचान भएको छ ।

यससँगै संक्रमितको कुल संख्या २ लाख ३१ हजार ९ सय ७८ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । आज थपिएका संक्रमितमध्ये महिलाको संख्या पाँच सय ११ रहेको छ भने पुरुष सात सय ४४ जना रहेका छन् । मन्त्रालयका अनुसार संक्रमितमध्ये पछिल्लो २४ घण्टामा एक हजार चार सय चार जना संक्रमित निको भएका छन् ।

यससँगै नेपालमा निको हुने संक्रमितको कुल संख्या २ लाख १२ हजार ५ सय ९० पुगेको मन्त्रालयको तथ्याङ्क छ । संक्रमण निको हुने दर ९१.६ प्रतिशत पुगेको छ । यसैगरी, २४ घण्टाको अवधिमा देशभरका २५ संक्रमितको ज्यान गएको छ । यससँगै मृतक संक्रमितको कुल संख्या एक हजार चार सय ७९ पुगेको मन्त्रालयले जनाएको छ ।

हाल देशभर १७ हजार नौ सय नौ जना सक्रिय संक्रमित रहेका छन् । विगत २४ घण्टामा देशभरका विभिन्न प्रयोगशालामा आठ हजार आठ स्वाब नमुनाको पीसीआर परीक्षण सम्पन्न भएको छ ।