इटहरीः संघीय सरकारको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले गरेको स्वास्थ्य सर्वेक्षणले घरमै रहेका सर्वसाधारणमध्ये करिब १० प्रतिशत मानिसमा कोरोना संक्रमणको आशंका गरेको छ ।
सर्वेक्षण अनुसार हालसम्म ३० लाख जनसंख्यामा संक्रमण पुष्टि भइसकेको आँकलन गरिएको छ । सर्वसाधारणको अनभिज्ञताका कारण संक्रमितको यकिन तथ्याङ्क सरकारसम्म पुग्न नसकेको सर्वेक्षणको निष्कर्ष रहेको छ । विश्व स्वास्थ्य सङ्गठनको प्राविधिक सहयोगमा नेपालका सातै प्रदेशका ७७ मध्ये ७५ वटा जिल्लामा गरिएको रगत परीक्षण सर्वेक्षणबाट सरकार यो निष्कर्षमा पुगेको स्वास्थ्य मन्त्रालय इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डा। वासुदेव पाण्डेले बताए ।
उनका अनुसार प्रत्येक प्रदेशबाट चार सय पचास जनाको रगत संकलन गरी ‘सेरोसर्भेइलेन्स’नामक परीक्षण गरिएकोमा सबै उमेर समूहको रगतमा एन्टीबडी भेटिएपछि सरकार ती सबै व्यक्तिमा संक्रमण पुष्टि भएको नतिजामा पुगेको हो । सेरोसर्भेइलेन्स परीक्षणको उद्देश्य संक्रमणको विस्तार दर पत्ता लगाई समुदाय स्तरमा संक्रमण पुगे नपुगेको यकिन गर्नु हो । कोरोना भाइरसका ८० संक्रमित लक्षणरहित हुने गरेको विश्व स्वास्थ्य संगठनले जनाएको छ । सरकारले तोकेका मापदण्डको पूर्ण पालनाका साथ गरिएको सर्वेक्षणबाट नेपालमा पनि संक्रमण दर सरकारी तथ्याङ्कभन्दा अधिक रहेको जनस्वास्थ्य सङ्घका पूर्वअध्यक्ष भोगेन्द्र डोटेलले बताए । यद्यपी, सर्वेक्षण गर्दाका बखतमा संक्रमण दर उच्च रहेको जनाउँदै स्वास्थ्य मन्त्रालयले यसको नतिजाबारे विस्तृत अध्ययन गरिने जनाएको छ ।