इटहरीः मोरङका दुई अस्पतालका साथै होम आइसोलेसनमा रहेका सुनसरीका एकसहित तीन जना कोरोना संक्रमितको ज्यान गएको छ ।
ज्यान गुमाउने संक्रमितहरुमा सुनसरीका साथै झापा र मोरङका संक्रमितहरु रहेका छन् । विराटनगरस्थित नोबेल शिक्षण अस्पतालमा उपचाररत सुनसरीको रामधुनी–७ का ६३ वर्षीय पुरुषको उपचारका क्रममा आज बिहान ५ बजे ज्यान गएको अस्पतालका प्रबन्धक नारायण दाहालले बताए । उनका अनुसार स्वासप्रस्वासमा समस्या देखिएपछि मंसिर २३ गते उपचारार्थ नोबेलमा भर्ना भएका पुरुषको आइसोलेसनमा राखी उपचार सुरु गरिएकोमा स्वास्थ्यमा सुधार आउन नसकेपछि ज्यान गएको हो ।
यसैगरी, गएराति ९ बजे उपचारका लागि कोसी अस्पतालमा भर्ना भएका झापाको दमक नगरपालिका १० घर भएका ६९ वर्षीय पुरुषको अस्पताल भर्ना भएको एक घण्टा नबित्दै ९ः५० बजे ज्यान गएको छ । कोसी कोभिड अस्पतालमा कार्यरत वरिष्ठ फिजिसियन डा.दीपक सिग्देलका अनुसार मधुमेह र उच्च रक्तचापबाट लामो समयदेखि ग्रस्त रहेका पुरुषलाई आइसोलेसनमा राखी उपचार सुरु गरिएकोमा उनको ज्यान गएको हो ।
यसैगरी, मंसिर २० गते विराटनगरकै ग्रीनक्रस अस्पताल भर्ना भई २२ गते संक्रमित पुष्टि भएका मोरङ उर्लाबारी नगरपालिका १ घर भएका ८४ वर्षीय पुरुषको गएराति करिब ९ बजे होम आइसोलेसनमा मृत्यु भएको छ । संक्रमण पुष्टि भएपछि परिवारद्वारा घरमै राख्नेगरी ल्याइएका पुरुषको ज्यान गएको उर्लाबारी नगरपालिकाले पुष्टि गरेको छ ।