इटहरीः नेपालको पूर्वेली सँस्कार र सँस्कृतिलाई टपक्कै टिपेर गीत संगीतको रुपमा रुपान्तरण गर्न माहिर चर्चित गायक तथा संगीतकार खगेन्द्र यक्सो लिम्बूले फेरि अर्को गीतको भिडियो सार्वजनिक गरेका छन् ।
अग्र्यानिक शब्द, लय र आवाजमा अब्बल अभियन्ताको पहिचान स्थापित गर्न सफल श्रष्टा खगेन्द्रको शब्द रचना र आवाजमा जाउँ डाँडै काटेर बोलको गीतको भिडियो सार्वजनिक भएको हो । कसैसँग माया प्रेम बसेपछि उमेर हेरिँदैन भन्ने सन्देश गीतको भिडियोले दिएको छ । खगेन्द्र यक्सो लिम्बू र श्रेयसी चेम्जोङको आवाज रहेको गीतको संगीत नयन सुब्बाले गरेका हुन् भने संगीत संयोजन टेकेन्द्र यक्सोले गरेका छन् ।
मौलिकतायुक्त यस गीतको भिडियोमा योगेन्द्र राई र सिता तुम्बाहाङ्फेले रोमाञ्चक अभिनय गरेका छन् । पूर्वको रमणीय र चर्चित पर्यटकीयस्थल तीनजुरेको काखमा अवस्थित सुन्दर बस्ती सोल्माको प्राकृतिक सुन्दरताको दृष्यलाई कैद गरिएको भिडियोको छायांकन र सम्पादन मेघराज मग्रातीले गरेका छन् भने भिडियोको निर्देशन यस गीतका गायक तथा गीतकार खगेन्द्र यक्सोले नै गरेका छन् ।