इटहरीः प्रदेश १ कै शैक्षिक गन्तव्यको रुपमा रहेको इटहरीको जनता बहुमुखी क्याम्पस त्रिभुवन विश्व विद्यालय, परिक्षा नियन्त्रण कार्यालयद्धारा कारबाहीमा परेको छ । कलेजमा परिक्षा सञ्चालनको क्रममा कारबाहीमा परेका विद्यार्थीको रातो मसि लगाइएका उत्तरपुस्तिका फरक फरक संकायको एकै ठाउँमा पठाएपछि यो क्याम्पस त्रिभुवन विश्व विद्यालयको परिक्षा नियन्त्रण कार्यालयबाट एक वर्षसम्म निलम्बनमा परेको हो । त्रिभुवन विश्व विद्यालयले तत्कालीन केन्द्रध्यक्ष तथा क्याम्पस प्रमुख भोजराज श्रेष्ठ र क्याम्पसलाई नै एक वर्षसम्म निलम्बन गरेका हो । हालकी क्याम्पस प्रमुख गीता अधिकारीले परिक्षा केन्द्रमा भएको लापरबाहीले क्याम्पसको यो अवस्था आएको जानकारी दिइन् । ‘परीक्षामा अभद्र व्यवहार गर्ने र परिक्षामा पालन गर्नुपर्ने नियम विपरित काम गरेका विद्यार्थीको उत्तरपुस्तिका एउटा खाममा राखेर पाठउँदा हामी निलम्बनमा परेका हौँ । रातो मसि लागेको शिक्षा संकाय र मानविकि संकायको उत्तरपुस्तिका एकै ठाउँमा पठाएकाले परिक्षा केन्द्र र तत्कालीन केन्द्राध्यक्ष कारबाहीमा परेको हो’, उनले भनिन् । साथै उनले त्रिभुवन विश्व विद्यालयसंग यस विषयमा छलफल भइरहेको र केन्द्र फिर्ता ल्याउने आफूहरु लागिरहेको जानकारी दिइन् । उनका अनुसार त्रि.वि ले पनि अर्को वोर्ड बैठकमा यो विषयमा छलफल गर्ने भएको छ ।

 यसरी वर्षौँदेखि हुँदै आएको परिक्षा केन्द्र एक्कासी सर्दा जनता बहुमुखी क्याम्पसका विद्यार्थी संगठनहरु आन्दोलीत बनेका छन् । यहाँ सक्रिय रुपमा विद्यार्थीको हक हितको लागि काम गर्दै आएका अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी यूनिय (अनेरास्ववियू), नेपाल विद्यार्थी संघ र समाजवादी विद्यार्थी यूनियनले कलेज प्रशासनको लापरवाहीले परिक्षा केन्द्र सरेको भन्दै आन्दोलीत बनेका हुन् । उनिहरुले कुनै पनि हालतमा दोषिलाई कारबाही गर्न कलेजलाई चेतावनी दिएका छन् । अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी यूनिय (अनेरास्ववियू)ले शुक्रबार एक विज्ञप्ती नै जारी गरेर २४ घण्टा भित्र दोषीलाई कारबाही गर्न माग गरेको छ । ‘अबको २४ घण्टा भित्र क्याम्पस प्रशासनले सत्यतथ्य छानविन गरि दोषीलाई सार्वजनीक गरेर कारबाही गर्न हामी जोडदार माग गर्दछौँ’, अनेरास्ववियूले जारी गरेका विज्ञप्तीमा भनिएको छ, ‘यदि २४ घण्टा भित्र क्याम्पस प्रशासनले दोषि उपर कारबाही नगरेमा अनेरास्ववियू कडा भन्दा कडा अन्दोलन गर्न बाध्य हुने र त्यसको सम्पुर्ण क्षति क्याम्पस प्रशासनले व्यहोर्नुपर्ने विषय अवगत गराउन चाहन्छौँ ।’

 यता नेपाल विद्यार्थी संघ जनता बहुमुखी क्याम्पसका सभापति सहदेव काफ्लेले कलेजका कर्मचारीको लार्पवाहीले परिक्षा केन्द्र सरेको भन्दै दोषि उपर छानविन गर्न माग गरेका छन् । उनले कोरोना महामारीलाई वाहाना बनाएर भाग्न खोजेका भन्दै दोषि जो भए पनि तुरुन्त छानविन गर्न माग गरे । क्याम्पस सञ्चालक समितिले क्याम्पस प्रशासन र कर्मचारी उपर छानविन गरेर कारबाही गर्नुपर्नेमा जोड दिए । समाजवदी विद्यार्थी युनियनका अध्यक्ष चन्द्र किँरातीले यो अवस्था आइपुग्नमा दोषी जो भए पनि कारबाही गर्नुपर्ने माग गरेका छन् । साथै उनले सामुदायीक विद्यालयको परिक्षा केन्द्र सरेर संस्थागत क्याम्पसमा पुग्नु लजास्पद भएको बताए । उनले कुनै पनि हालतमा दोषी उपर कारबाही गर्न सबै लाग्नुपर्नेमा जोड दिए । यहाँको परिक्षा केन्द्र सरेर अहिले इटहरीकै विश्व आदर्श कलेजमा पुगेको छ ।