काठमाडौंः नेपालमा कोरोना भाइरस (कोभिड–१९) को सङ्क्रमणबाट मुक्त हुनेको दर बढेको पाइएको छ । विश्वका तुलनामा नेपालमा निको हुने दर बढेको हो ।
बिहीबारको तथ्याङ्कानुसार विश्वमा निको हुने दर ६९.३ प्रतिशत पुग्दा नेपालमा त्यसभन्दा बढी ९४.२ प्रतिशत पुगेको छ । विश्वमा ६ करोड ९२ लाख ५४ हजार तीन सय सङ्क्रमित भएका अवस्थामा चार करोड ८० लाख नौ हजार चार सय ३७ जना निको भएका छन् । बिहीबारसम्मको तथ्याङ्कानुसार नेपालमा दुई लाख ४५ हजार ६ सय ५० सङ्क्रमितमध्ये दुई लाख ३१ हजार ६ सय एक जना निको भई घर फर्किसकेका छन् । नेपालमा कुनै समय ६०–६२ प्रतिशत मात्र कोभिड–१९ का सङ्क्रमित निको भएकामा अहिले ९४ भन्दा बढी प्रतिशत पुगेको छ । विगत दुई महिनाको तथ्याङ्क हेर्दा निको हुने दर ६८ प्रतिशतबाट बढेको देखिन्छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमले नेपालमा सङ्क्रमितको उपचार सेवा राम्रो भएकाले निको दर बढेको बताए ।
अहिले उपचार सेवा पनि राम्रो भएका कारण सङ्क्रमितको निको हुने दर पनि बढेको उनले बताए । गत असोज २८ गते ६८.८ प्रतिशत सङ्क्रमित निको भएका छन् । यस्तै कात्तिक ९ गते ७०.६, कात्तिक १६ गते ७७।६ र कात्तिक २६ गते ८० प्रतिशत सङ्क्रमित निको भई घर फर्केका थिए । यही मङ्सिर १९ गतेदेखिको तथ्याङ्क हेर्दा पनि सङ्क्रमित निको हुने दर बढेको पाइन्छ । मङ्सिर १९ गते ९२.९, २० गते ९३.४, २१ गते ९३.७, २२ गते ९४, २३ गते ९४.१ र २४ गते ९४.३ प्रतिशत सङ्क्रमित निको भएका छन् । बिहीबार मात्र मन्त्रालयले सार्वजनिक गरेको तथ्याङ्कानुसार ९४.२ प्रतिशत सङ्क्रमित निको भएका छन् । सो दिन एक हजार ६४ जना निको भई घर फर्किएका थिए ।
शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका निर्देशक डा.सागरराज भण्डारीले उपचार पद्धति अन्य मुलुकको जस्तो भए पनि अहिले लक्षण नभएका सङ्क्रमित घरमै बसेर निको हुने गरेको बताए । उनले परीक्षण नै कम भएकाले सङ्क्रमित पनि कम हुने भएकाले निको हुने दर बढेको जिकिर गरे । सशस्त्र प्रहरी बल अस्पतालका डा.प्रवीण नेपाल परीक्षण नै कम भएर सङ्क्रमणको दर पनि कम देखिनाले निको हुनेको सङ्ख्या बढेको बताउँछन् ।
मृत्युदर कम
यस्तै नेपालमा विश्वका तुलनामा मृत्युदर पनि कम छ । पछिल्लो तथ्याङ्कमा नेपालमा सङ्क्रमितमध्ये ०.६७ प्रतिशत मात्र मृत्यु हुने गरेको पाइएको छ । प्रतिदश लाखमा ५६.५ जनाको मात्र मृत्यु हुने गरेको छ । नेपालमा अहिलेसम्म एक हजार ६ सय ६३ जनाको सङ्क्रमणका कारणले निधन भइसकेको छ । विश्वमा २.३ प्रतिशत सङ्क्रमितको कोभिड–१९ का कारणले मृत्यु हुने गरेको पाइएको छ । विश्वमा १५ लाख ७६ हजार ८५ जनाको सङ्क्रमणको कारणले निधन भएको छ । -रासस