इटहरीः सत्तारुढ नेपाल कम्युनिस्ट पार्टीको केन्द्रीय तहमा आन्तरिक विवाद चुलिँदै जाँदा देशभरका स्थानीय नेतृत्वसमेत कलहमा होमिएको छ ।
अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहालका बीचमा देखिएको असमझदारीका कारण दुवै नेताहरु एक अर्काविरुद्ध गुटबन्दीमा उत्रिएका छन् । पार्टीका प्रदेश तथा जिल्लास्तरकै नेतृत्व एक अर्काविरुद्ध खनिन थालेपछि नेकपाको एकता प्रकृया पूरा नहुँदै विभाजनको संघारमा पुगेको छ । एउटाले आफूलाई अर्कोभन्दा शक्तिशाली देखाउन दुवै पक्षले देशभर शक्ति प्रदर्शन गरिरहेका छन् । यसै सिलसिलामा आज मोरङको विराटचोकमा ओली पक्षले आफ्ना गुटका युवाहरुको भेला गराई शक्ति प्रदर्शनसमेत गरेको छ । नेता गोकुल बास्कोटाले सम्बोधन गरेको भेलाको आयोजनापूर्व मोटरसाइकल र्यालीको आयोजना गरी शक्ति प्रदर्शन गरिएको हो ।
गत सोमबार विराटनगरमा प्रदेश १ का आन्तरिक मामिला तथा कानून मन्त्री हिक्मत कार्कीको उपस्थितिमा प्रदेशस्तरीय विद्यार्थी भेला सम्पन्न भएको थियो । माधव नेपाल र प्रचण्ड गुटको विद्यार्थी भेला भने भोलि आइतबार प्रदेशका मन्त्री र विद्यार्थी संगठनका केन्द्रीय प्रतिनिधिको उपस्थितिमा झापाको दमकमा हुने भएको छ । पार्टी एकताका लागि दबाब दिन भेला आयोजना गर्न लागिएको अनेरास्ववियुका केन्द्रीय सचिव वसिम आलमले बताए । ओली पक्षले गोप्य भेला आयोजना गरिरहँदा आफूहरु खुला रुपमा केन्द्रीय नेतृत्वलाई दबाब दिन लागेको उनको भनाइ थियो । यसैगरी, आगामी मंगलबार विराटनगरमा जिल्लास्तरीय विद्यार्थी भेला आयोजना गरी शक्ति प्रदर्शन गरिने भएको छ ।
गुटगत भेलाको श्रृङृखलाले तिव्रता नेकपामा पाएको छ । गत कात्तिक १९ गते प्रधानमन्त्री ओलीको नेतृत्वमा जनताको बहुदलीय जनवाद लाई पार्टीको मूल सिद्धान्तका रुपमा देशैभर प्रचारप्रसार गर्न गुटगत भेला आयोजना गरिएको थियो । यसैगरी, गत कात्तिक २७ गते ओली पक्षले मदन भण्डारी फाउन्डेसनको शाखा सुनसरीको इटहरीमा स्थापना गरेको थियो । यता, सोही कार्यको प्रतिवादस्वरुप मंसिर १० गते प्रचण्ड पक्षले सुनसरीको इटहरीमा आफ्नो गुटको भेला बोलाएको थियो ।