तेहरानः इरानमा एक जना पत्रकारलाई फाँसी दिइएको छ ।
विरोध भड्काएको आरोपमा ईरानी सरकारले उनलाई फाँसी दिएको हो । एक म्यासेजिङ एपमार्फत् विरोध भड्काएको आरोपमा उनलाई फाँसीको सजायँ दिइएको हो । पत्रकार रुहोल्लाह जामलाई शनिबार फाँसी दिइएको ईरानी सरकारी सञ्चारमाध्यमले जनाएको हो । फ्रान्समा शरण लिएर बसिरहेका जाम कसरी गिरफ्तार भए भन्ने प्रष्ट भएको छैन । यद्यपि, गत वर्ष इराक गएको समयमा उनी पक्राउ परेको बताइएको छ । जामले अमादन्यूज नामक सरकार विरोधी एक लोकप्रिय फोरम चलाउने गर्दथे । ईरानले अमादन्यूजमाथि २०१७–०१८ को देशव्यापी विरोध प्रदर्शन भडकाएको आरोप लगाएको छ ।
१० लाखभन्दा बढी फलोअर रहेको अमादन्यूजले म्यासेजिङ एपमार्फत् विरोध प्रदर्शनका भिडियो र इरानी अधिकारीहरुका बारेमा जानकारी सार्वजनिक गरेको थियो । इरान सरकारले यस नेटवर्कको बन्द गरिदिएको थियो । तर पछि फेरि अर्कै नामबाट शुरु गरिएको थियो । उनीमाथि भ्रष्टाचार आरोप लगाइएको थियो । तर मानवाधिकारवादी संस्था एम्नेस्टी इन्टरनेसनलले जामको मुद्दामा अनुचित सुनुवाई गर्दै जबरजस्ती अपराध स्वीकार्न लगाएको जनाएको थियो । फ्रान्सले जामलाई मृत्युदण्ड दिनु अभिव्यक्ति स्वतन्त्रतामाथि गम्भीर आक्रमण भएको जनाएको छ । सन् २००९ को विवादित राष्ट्रपति निर्वाचनपछि जामलाई इरानमा कैद गरिएको थियो । तर पछि उनी फ्रान्समा शरण लिन सफल भएका थिए । उनलाई इरानी रिभोल्यूशनरी गार्ड कर्प्स्ले पक्राउ गरेको थियो । -एजेन्सी