इटहरीः कोरोनाभाइरस विरुद्धको खोपको साझा विकास र उचित वितरण अभियान ‘कोभ्याक्स’ सुविधामार्फत नेपालमा पनि जनसंख्याको २० प्रतिशत अर्थात करीब ६० लाख नेपालीलाई पुग्ने गरी खोप उपलब्ध हुने गैरआवासीय नेपाली संघले जनाएको छ ।

गैरआवासीय नेपाली संघ अन्तर्गतको स्वास्थ्य समितिका अनुसार कोभ्याक्स सुविधामार्फत न्यून आय आएका नेपाल जस्ता मुलुकमा खोपको सहज वितरण गरिने भएकाले नेपालमा पनि ६० लाख मानिसका लागि कोरोनाविरुद्धको खोप उपलब्ध हुनेछ । यद्यपी यसका लागि सबैभन्दा पहिले खोपको सफलता नै आवश्यक भएको समितिका संयोजक डा.सञ्जिव सापकोटाले जानकारी दिए । हाल विश्वभर ५८ वटा कोरोनाविरुद्धको खोपको क्लिनिकल ट्रायल भइरहेको छ ।

तीमध्ये १५ वटाको परीक्षण अन्तिम चरणमा छ । अमेरिकी र जर्मन साझेदार कम्पनी फाइजर र बायोएनटेकले निर्माण गरेको खोपलाई भने ५ वटा मुलुकले अनुमति दिइसकेका छन् । सो खोप ९५ प्रतिशत प्रभावकारी रहेको बताइएको छ । हालसम्म बेलायत, बहराइन, क्यानडा, अमेरिका र मेक्सिकोले सो खोपको आपतकालीन प्रयोगका लागि अनुमति दिएका हुन् । पहिलो चरणमा उच्च जोखिममा रहेका बिरामी र वृद्धवृद्धालाई सो खोप दिइनेछ । नेपालमा पनि सोही खोप ल्याउन सकिने संकेत सरकारी अधिकारीहरुले गरेका छन् यद्यपी सो विषयमा औपचारिक निर्णय भएको छैन ।