इटहरीः सुनसरीको रामधुनीमा विद्यालय निर्माणको लागि वडा कार्यालयले विनियोजन गरेको बजेटबाट अस्थायी कोभिड अस्पताल निर्माण गरिएको छ ।

नगरको वडा नम्बर ५ मा रामधुनी नगरपालिका, वडा नम्बर ५ र प्रदेश सरकारको लगानीमा सो अस्पताल निर्माण गरिएको हो । अधारभूत विद्यालयको भवन निर्माणको लागि वडाले विनियोजन गरेको बजेटमा नगर र प्रदेश सरकारको सहयोगमा भवन निर्माण भएको हो । वडा नम्बर ५ मा निर्माण भएको सो अस्पतालको सोमबार नगरप्रमुख जयप्रकाश चौधरी, सोही वडाका वडाध्यक्ष डेगराज फुयाँल तथा अन्य वडाका अध्यक्ष तथा स्थानीयको उपस्थितिमा उद्घाटन गरिएको छ ।

उद्घाटन कार्यक्रममा बोल्दै नगरप्रमुख जयप्रकाश चौधरीले सिमित स्रोत साधनमा बनेको कोभिड १९ अस्पतालको आगामि आवश्यकता नगरले पूर्ति गर्ने बताए । साथै उनले सो कामका लागि सहयोग गर्ने सबैलाई धन्यवाद दिए । सोही वडाका वडाध्यक्ष डेगराज फूयाँलले संघीय सरकारले १० लाख रुपैयाँ दिएको र त्यही बजेटबाट अस्पतालमा कर्मचारी व्यस्थापन र अन्य काम गर्ने जानकारी दिए । ‘हामीलाई संघीय सरकारले १० लाख रुपैयाँ दिएको छ । त्यहप् बजेटलाई परिचालन गर्दै हामीले यो आधारभूत स्वास्थ्य केन्द्रको भवनमा नयाँ कोभिड अस्थायी भवन निर्माण गरेका छौँ । यस्तै रामधुनी नगरपालिका र वडाको बजेटबाट अस्पतालमा कम्पाउन्ड वाल निर्माण गरेका छौँ’, उनले भने । साथै उनले संघीय सरकारले तीन महिनासम्मको कोभिड अस्पतालको खर्च व्यहोर्ने भएपछि अस्पताल सञ्चालन गर्न लागिएको जानकारी दिए ।