इटहरीः इजरायलको पूर्वअन्तरिक्ष सुरक्षा प्रमुखले एलियनहरूको अस्तित्व रहेको बताएका छन् ।
एक अन्तर्वार्तामा उनले ब्रम्हाण्डमा भएका एलियनले पृथ्वीमा रहेको मानिससँग सम्पर्क स्थापना गरिसकेको दाबी गरेका छन् । इजरायली भाषा हिब्रुमा प्रकाशन हुने ‘येइडियट अहरोन’ पत्रिकाका अन्तरवार्ताका क्रममा पूर्वप्रमुख हैम इशेदले एलियनहरू अस्तित्वमा रहेको दाबी गरेका हुन् । गत हप्ता हिब्रु भाषामा दिएको अन्तर्वार्ता अङ्ग्रेजी संस्करण ‘यरुशलेम पोष्ट’ मा प्रकाशित भएपश्चात विश्वको ध्यान खिचेको छ । उनले एलियनहरू पृथ्वीको भ्रमणमा आएको दाबी गरेका छन् ।
उनले भनेका छन्, ‘पृथ्वीमा एलियनहरू आएका छन् । तर उनीहरूले नै आफ्नौ अस्तित्वको खुलासा नगर्न भनेका छन् ।’ मानवजाति अझै अस्तित्व स्वीकार गर्न तयार भइनसकेको उनले बताएका छन् । इशेदले भनेका छन्, ‘एलियनहरू पृथ्वीमा बसोबास गर्ने मानिसहरू र यहाँको संरचनाबारेमा जानकारी लिनको लागि धेरै उत्सुक देखिन्थे ।’ उनले मङ्गलग्रहमा अनुसन्धान अघि बढाउनका लागि एलियनले अमेरिकासँग सम्झैता गरेको दाबी गरेका छन् । सम्झौताअनुरुप एलियन र अमेरिकी अन्तरिक्ष प्रतिनिधिबीच संयुक्त अनुसन्धान कार्य सञ्चालन अघि बढाइने उनको दाबी छ । इशेदको अनुसार एलियनहरू अस्तित्वमा रहको बारेमा अमेरिकि राष्ट्रपति डोनाल्ड ट्रम्पलाई जानकारी रहेको बताए ।
एलियनहरूको अस्तित्वबारे जानकारी दिने तयारी गरिरहेको थिए । तर मानिसहरूले एलियनको अस्तित्ववारे थाहा पाएमा मानसिक असर पर्ने भन्दै यसो नगर्न उनीहरूले सुझाव दिएका थिए । ‘वास्तवमा ब्रम्हाण्ड के हो र यो कस्तो छ भन्नेबारेमा मानिसले बुझ्नको लागि धेरै कुराहरू छन्,’ उनले भने । इशेदले अन्तर्वार्ता दिएपश्चात ह्वाइट हाउस र इजलाइलले कुनै प्रतिक्रिया दिएको छैन् । इजलायलले अन्तरिक्षमा धेरै प्रक्षेपण गरिसकेको छ । इजलायललाई अनुसन्धानको नेतृत्वकर्ता इशेदले अवकास पाएपछि मात्र एलियनका बारेमा जानकारी दिएका हुन् ।
‘यदि आज भनेको कुरा मैले पाँच वर्षअघि राखेको भए मलाई अस्पताल पुर्याइन्थ्यो होला,’ उनले भने । आफूले केहीलाई यसबारे जानकारी दिएको र उनीहरूले प्रतिक्रियास्वरुप आफूलाई ‘मानसिक रोगी’ भनेको बताएका छन् । गत मे महिनामा नयाँ सैनिक विभाग सम्बोधन गर्ने क्रममा ट्रम्पले अन्तरिक्ष हेर्नका लागि छुट्टै संयन्त्र बनाउने बताएका थिए । ‘सुरक्षा र प्रतिकार दुवै हिसाबमा अन्तरिक्ष हाम्रो भविष्य हुनेछ अब हामी ब्रह्मान्डको पनि अगुवा (लिडर) बन्नेछौं,’ उनले भनेका छन् । इशेदले अन्तर्वार्तामा राखेका तथ्यका बारेमा सामाजिक सञ्जालमा बहसको बिषय बनेको छ । -एनबीसी न्युज