इटहरीः प्रदेश १ सरकारले प्रादेशिक राजधानी विराटनगरमा सुविधासम्पन्न जनस्वास्थ्य प्रयोशाला निर्माण गर्ने भएको छ । मुख्यमन्त्री शेरधन राईले आज सो प्रयोगशालको शिलान्यास गरेका छन् ।
आगामी असार १५ भित्र प्रयोगशालाको निर्माण सम्पन्न गर्ने प्रदेश सरकारको योजना रहेको छ । शिलान्यास समारोहलाई सम्बोधन गर्दै मुख्यमन्त्री राईले प्रदेश जनस्वास्थ्य प्रयोगशालाको भवन निर्माणपछि विशिष्टकृत सेवा प्रदान हुने बताए । उनले प्रयोगशालाका नाममा हुने गरेका बेथिति, अनियमितता, सर्वसाधारणलाई ठग्ने कार्यको नियमन हुनेसमेत बताए । उनले भने, ‘प्रदेश जनस्वास्थ्य प्रयोगशालाले प्रयोगशालाहरुको पनि प्रयोगशालाको काम गर्नेछ ।’ सामाजिक विकास मन्त्री जीवन घिमिरेले विशिष्टिकृत परीक्षणका लागि काठमाडौँ र भारतका विभिन्न शहरहरु जानुपर्ने समस्याको अन्त्य हुने बताए । प्रदेश जनस्वास्थ्य प्रयोगशालाबाट विशिष्टिकृत परीक्षण हुने उनले बताए ।
मन्त्री घिमिरेले भने, ‘प्रदेशभित्रका प्रयोगशालाको गुणस्तर मापनको जिम्मेवारी, शुल्कको नियमन, अनुगमनको काम प्रदेश प्रयोगशालाले गर्ने छ ।’ शिलान्यासको आठ महिनापछि सेवा सुरु गरिने दावी गरे । छ महिनाभित्रमा निर्माण सम्पन्न हुने उनले बताए । प्रदेश सभाषद् जयराम यादवले कुनै पनि परीक्षणका लागि काठमाडौँ धाउनुपर्ने समस्याको अन्त्य हुने विश्वास व्यक्त गरे । उनले निश्चित समयमा भवन निर्माण गरी सेवा सुरु गर्न सुझाव दिए । प्रयोगशालामा जेनरल ल्याब, नसर्ने रोग, सरुवा रोग, पीसीआर भाइरल कल्चर परीक्षणलगायतका काम हुने प्रदेश जनस्वास्थ्य निर्देशक जयवेन्द्र यादवले बताए । प्रयोगशाला स्थापनार्थ सेभ द चिल्ड्रेन र ग्लोबल फन्डले आर्थिक स्रोत उपलब्ध गराउने भएको भने जग्गा स्नातकोत्तर क्याम्पसले प्रदान गर्ने भएको छ । प्रयोगशाला ८ कठ्ठा १२ धुर क्षेत्रमा विस्तार हुनेछ ।