वासिङ्टन डीसीः नवनिर्वाचित अमेरिकी राष्ट्रपति जो बाइडनले जितका लागि आवश्यक पर्ने औपचारिकता पूरा गरेका छन् ।
इलेक्टोरल कलेजको समर्थन पाएलगत्तै उनको जितले औपचारिकता पाएको हो । सोमबार देशभरका इलेक्टोरल कलेजका सदस्यहरुले बाइडेनको जितलाई औपचारिकता प्रदान गरेका हुन् । योसँगै अमेरिकाको ४६ औँ राष्ट्रपतिका रुपमा जिम्मेवारी सम्हाल्न अब बाइडेनलाई सबै ढोका खुलेको छ । जितले औपचारिकताको आधिकारिकता पाएसँगै नयाँ वर्षको २० जनवरीबाट विश्वकै शक्तिशाली पद सम्हाल्न जो बाइडन र उहाँकी उपराष्ट्रपति कमला ह्यारिसलाई बाटो खुलेको हो । गत नोभेम्बर ३ मा सम्पन्न अत्यन्तै विवादास्पद निर्वाचनमा डेमोक्रेट उम्मेदवार पूर्वउपराष्ट्रपति बाइडेनले ३०६ र उनका निकटतम प्रतिद्वन्द्वी रिपब्लिकन रिपब्लिकन उमेदवार वर्तमान राष्ट्रपति डोनल्ड ट्रम्पले २३२ इलेक्टोरल कलेज मत प्राप्त गरेका छन् ।
अमेरिकी निर्वाचन प्रणालीमा प्रत्येक राज्यका मतदाताहरुले इलेक्टोरल कलेजका लागि मत दिन्छन् र ती इलेक्टोलर कलेजका सदस्यहरुले राष्ट्रपति र उपराष्ट्रपति चुन्न मत दिने गर्दछन् । कुनै प्रमाणबिना नै चुनावमा धाँधली भएको आरोप लगाइरहेका ट्रम्पले सम्पूर्ण ढोका बन्द हुँदा पनि हार स्वीकार गरेका छैनन् । उनले इलेक्टोरल कलेजले दिने मतबाट आफू विजयी हुने दाबीसमेत गर्दै आएका थिए । अदालतलाई प्रयोग गरेर केही संग्रामी मैदान मानिएका राज्यहरुको चुनावी परिणाम उल्ट्याउने ट्रम्पको प्रयास पनि सर्वोच्च अदालतले मुद्दा नै खारेज गरिदिएकाले सकिएको छ । आउँदो २० जनवरी २०२१ का दिन राष्ट्रपति भवन ह्वाइट हाउसमा आयोजित एक समारोहका बीच नवनिर्वाचित राष्ट्रपति बाइडेनले कार्यभार सम्हाल्नेछन् । -एजेन्सी