इटहरीः प्रदेश सरकार र नागरिक केयर सेन्टरको सहकार्यमा निर्मित कोभिड अस्पतालको उद्घाटन भएको छ ।

आइतबार एक कार्यक्रमका बीच प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले उद्घाटन गरेका हुन् । निजी क्षेत्रको सहयोगमा निर्माण गरिएको उक्त अस्पतालमा १ सय बेड क्षमता रहेको छ । यो अस्पताल नेपालकै सबैभन्दा सुविधा सम्पन्न कोभिड अस्पतालका रूपमा निर्माण भएको सामाजिक विकास मन्त्री जिवन घिमिरेले बताए । घमिरेले भने, ‘अहिले कोरोना सङ्क्रमितको सङ्ख्या घट्दोक्रममा छ, दोस्रो लहरको सम्भावनालाई ध्यानमा राखेर सुविधासम्पन्न कोभिड अस्पताल निर्माण गरिएको हो ।’ सो अस्पतालमा सबै बेडमा अक्सिजन पाइप जडान गरिएको घिमिरेले बताए ।

कोभिड अस्पतालमा नै अक्सिजन प्लान्टको योजना रहेको र यसमा पनि स्वीस सरकारको सहयोग रहने घिमिरेले बताए । नेश्नल ट्रेनिङको दक्षिणतर्फको भवन पनि कोरोना उपचार केन्द्रको रूपमा विकास गरिने घिमिरेले बताए । जसको लागि स्वीस सरकारले ४ करोड सहयोग गर्ने उनले बताए । उक्त कोभिड उपचार केन्द्रमा फोहोर व्यवस्थापनका लागि छुट्टै परियोजनाका साथ कार्य भइरहेको मन्त्री घिमिरेको भनाइ छ । अहिले निर्माण भएको १ सय बेड, पहिला निर्माण भएको १ सय बेड र अब निर्माण हुने एक सय बेडसहित उक्त अस्पतालमा ३ सय बेडको सेवा प्रवाह गर्नसक्ने अवस्थामा रहेको घिमिरेले बताए ।

अब थप गरिने १ सय बेड पनि एक दई महिनाभित्रमा सम्पन्न हुने उनले बताए । कार्यक्रममा बोल्दै प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले यो नेपालकै उदाहरणीय अस्पतालका रूपमा रहेको बताए । यो अस्पताल निर्माणमा सबै निःस्वार्थ ढङ्गले लागि परेकाले आज सफलता हात परेको उनले बताए । मुख्यमन्त्री राईले नागरिकको सुरक्षा र स्वास्थ्यको जिम्मेवार लिने उनले बताए ।