चितवनः चितवन मेडिकल कलेजमा चिकित्साशास्त्रको अत्याधुनिक र अति विशिष्ट सेवाअन्तर्गत् न्युक्लियर मेडिसिन सेवा सुरु भएको छ ।
अत्याधुनिक स्पेक्ट सिटी मेसिन भित्रिएसँगै न्युक्लियर सेवा सुरु भएको हो । कलेजले यस किसिमको उपकरण नेपालमा मात्रै नभएर भारतमा पनि अहिले जडानको प्रक्रियामा रहेको दाबी गरेको छ । अमेरिका, बेलायत र क्यानडाजस्ता देशमा समेत सर्वसुलभरूपमा उपलब्ध नहुने यो प्रविधि आफूले भित्र्याएको अस्पतालका अध्यक्ष एवं प्रबन्ध निर्देशक प्रा डा हरिश्चन्द्र न्यौपानेले दाबी गरे । यस उपकरण जडानसँगै धेरै बिरामीले उपचार लिने र काठमाडौं उपत्यकासहित देशैभरबाट बिरामी आउने उनको भनाइ छ । अस्पतालले उपकरण र जडान गरी करिब रु १४ करोड खर्च गरेर सेवा सञ्चालनमा ल्याएको न्यौपानेले जानकारी दिए । अस्पतालको न्युक्लियर मेडिसिन विभाग प्रमुख डा। जीवन पौडेलका अनुसार यस सेवा सुरु भएसँगै मुटु, मस्तिष्क, थाइराइड, फोक्सो, मिर्गौला, कलेजो, हड्डीका साथसाथै शरीरका प्रायः सबै अंगको गहन जाँच सम्भव हुन्छ । चिकित्सा शास्त्रका प्रायः सबै विभागका बिरामी यसबाट लाभान्वित हुने उनको भनाइ छ ।
पौडेलले भने, ‘‘अबको समयमा थाइराइड क्यान्सरलगायत थाइराइडको जुनसुकै समस्याको चितवन मेडिकल कलेजबाट सफल उपचार हुनेछ । थाइराइडका गलगाँडको बिना अपरेसन सफल र स्थापित उपचार हुन्छ ।’ यस सेवाअन्तर्गत् सानो मात्रामा रेडियोधर्मी औषधि बिरामीको नसाबाट दिएर त्यसबाट निस्कने गामा विकिरणलाई स्पेक्ट सिटीको माध्यमबाट जाँच हुन्छ । यसबाट शरीरका विभिन्न अंगको गहन जाँच सम्भव हुने डा. पौडेलको भनाइ छ । थाइराइड क्यान्सरको समेत पूर्णरूपमा सफल उपचार हुने उनले जिकिर गरे । न्युक्लियर मेडिसिन (नाभिकीय चिकित्सा) मा विद्यावारिधि गरेका डा अरुण गुप्ताले यस उपकरण जडानसँगै भारतबाट पनि बिरामी यहाँ आउने बताए । उनले भने–‘‘भारतमा पनि बल्ल यो उपकरण भित्रिने चरणमा छ ।’’ कलेजका प्रमुख कार्यकारी निर्देशक प्रताप देवकोटाले न्युक्लियर मेडिसिन (नाभिकीय चिकित्सा) सुरु भएसँगै अस्पतालमा थाइराइडको ‘कम्प्रिहेन्सिभ थाइराइड केयर क्लिनिक’ सञ्चालन गर्न लागिएको बताए ।
यसमा न्युक्लियर फिजिसियन, शल्यक्रिया गर्ने चिकित्सक र इन्डोक्राइनोलोजिष्टको टोलीले थाइराइडको क्यान्सरलगायत जुनसुकै समस्याको सफल उपचार गर्ने उनको भनाइ छ । वार्षिक चार लाख हाराहारी बिरामीको उपचार गर्दै आएको यस मेडिकल कलेजले आकस्मिक सेवासँगै सिटीस्क्यान, एमआरआई, क्याथल्याबसहितको विशिष्ट सेवा दिँदै आएको छ । यहाँ नेपालभर र भारतबाट पनि बिरामी उपचारका लागि आउने गरेको देवकोटाले जानकारी दिए । -रासस