इटहरीः प्रदेश १ मा आज ४० जना नयाँ कोरोना संक्रमितको पहिचान भएको छ ।
संक्रमितमध्ये २४ जना पुरुष र १६ जना महिला रहेको प्रदेश सरकारको सामाजिक विकास मन्त्रालयले जनाएको छ । आज झापामा १२, मोरङमा १०, सुनसरीमा नौ, इलाममा तीन, सङ्खुवासभामा दुई, भोजपुर र सोलुखुम्बुमा एक–एक जना र प्रदेश १ बाहिरका दुई जनामा संक्रमण देखिएको हो । मन्त्रालयका अनुसार आज प्रदेशभर गरिएका तीन सय स्वाब नमुनाको पीसीआर परीक्षणको नतिजा अनुसार ४० जनामा संक्रमण पुष्टि भएको हो । यससँगै संक्रमितको कुल संख्या २९ हजार छ सय १४ पुगेको मन्त्रालयको तथ्याङ्क छ ।
संक्रमितमध्ये आज प्रदेश १ मा चार सय १५ जना कोरोना सङ्क्रमित निको भएका छन् । होम आइसोलेसनबाट तीन सय ९९, इलाम अस्पताबाट आठ, विराट मेडिकल कलेजबाट छ र मेची अस्पतालबाट एक जना डिस्चार्ज भएको मन्त्रालयले जनाएको छ । यससँगै प्रदेशभर निको हुने संक्रमितको कुल संख्या २६ हजार सात सय १० पुगेको छ । हालसम्म प्रदेशमा दुई लाख छ हजार सात सय २४ जनाको पीसीआर परीक्षण गरिएको मन्त्रालयले जनाएको छ ।