इटहरीः धनकुटाको छथर जोरपाटी गाउँपालिकामा स्थापित पाँच शैय्याको कोभिड अस्पताल आजदेखि सञ्चालनमा ल्याइएको छ ।
गाउँपालिका अध्यक्ष शेरबहादुर लिम्बूका अनुसार गाउँपालिकाले आफ्नै स्वामित्वमा रहेको सामुदायिक भवनबाट अस्पतालको सेवा दिन थालेको हो । उनले अस्पतालमा एक जना चिकित्सकसहित ६ जना स्वास्थ्यकर्मीको दरबन्दी रहेको छ । मुलतः कोरोना भाइरसबाट संक्रमित व्यक्तिको उपचार गर्ने उद्देश्यले अस्पताल सञ्चालनमा ल्याइएको भएपनि अस्पतालले अन्य बिरामीलाई समेत उपचार सेवा प्रदान गर्ने उनको भनाइ छ ।
अस्पताल २४ घण्टा सञ्चालनमा रहने अस्पताल प्रशासनले जनाएको छ । अस्पताल अभावमा कोरोना संक्रमित बिरामी उपचारार्थ अन्यत्र जान बाध्य रहेको अवस्थालाई मध्यनजर गर्दै स्थानीय तहले अस्पताल सञ्चालनमा ल्याएको अध्यक्ष लिम्बूले बताए ।