इटहरीः मोरङको बेलबारी नगरपालिकाले नगर भित्रका रोगी र विपन्न नागरिकहरुको स्वास्थ्य सुविधामा पहुँच विस्तारका लागि घरघरमा पुगेर बिरामीको उपचार तथा परामर्श सुरु गरेको छ ।
लामो समयदेखि उपचारको अभावमा रोगसँग जुधिरहेकी बेलबारी ९ की जित्नी धिमाललाई उनकै बासस्थानमा पुगेर मंगलबार बेलबारी नगरपालिकाकी उपमेयर ढाकाकुमारी पराजुली,वडा नं ९ का वडाध्यक्ष नगेन्द्र खड्का,नगरपालिकाका स्वास्थ्यकर्मीहरु संतोष विश्वकर्मा,चन्द्र दाहालसहितको टोलीले भेटघााट तथा परामर्श सुरु गरेको छ । परामर्शपश्चात् स्वास्थ्यकर्मी चन्द्र दाहालले आजैबाट बिरामीलाई आवश्यक उपचार एवम् आवश्यकता अनुरुप थप परामर्श अघि बढाइने बताए ।
‘पेसाले नै नागरिकको सेवा गर्ने अवसर पनि स्वास्थ्यकर्मीलाई भएकोले हामी स्वास्थ्य संस्थाका साथसाथै अशक्त,असहाय,विपन्न नागरिकका घरमै पुगेर सेवा दिँदा पेसाप्रति गर्व महशुस हुन्छ । बिरामीहरु उपचारपछि सन्चो भएको देख्दा झन आनन्द लाग्छ । त्यसैले घरघरमा पुगेर पनि उपचार गर्छौँ’, बेलबारी नगरपालिकाको स्वास्थ्य शाखाका कर्मचारी सन्तोष विश्वकर्माले भने ।
वडाध्यक्ष नगेन्द्र खड्काले वडावासीको स्वास्थ्य सुरक्षासँगै विकास निर्माणका लागि आफू निरन्तर लागिरहेकोले आफ्नो र वडाको तर्फबाट वडावासीलाई सदैव सहयोग रहने बताए । ‘नागरिकको स्वास्थ्य सुरक्षा पहिलो सर्त हो । स्थानीय सरकार जनताको अभिभावक भएकोले कोही नगरवासी भोकै बस्नुपर्ने अवस्था र स्वास्थ्य उपचार नपाई रोग पालेर बस्नुपर्ने अवस्था आउन नदिन हामी जनप्रतिनिधि सचेत भएर लागेका छौँ । अफ्ट्यारो परेको बेला नागरिकलाई घरघरमा पुगेर उपचार दिने कार्यलाई निरन्तरता दिनेछौं ।’, उपमेयर ढाकाकुमारी पराजुलीले भनिन् ।