इटहरीः नेपाली सेनाको पूर्वी पृतना मुख्यालय इटहरीमा रहेको सामुदायिक सर्पदंश उपचार केन्द्रलाई १५ लाख रुपैयाँ बराबारको पोर्टेवल भेन्टिलेटर हस्तान्तरण गरिएको छ । सामाजिक विकास मन्त्रालय प्रदेश १ बाट खारिद गरिएको सो भेन्टिलेटर हिजो मंगलबार जिल्ला स्वास्थ्य कार्यालय सुनसरीले सर्पदंशलाई हस्तान्तरण गरेको हो । सामुदायिक सर्पदंश उपचार केन्द्रका अध्यक्ष दिवस पोखरेलले उपचार केन्द्रमा भेन्टिलेटरको अभाव हुँदा सर्पले डसेका बिरामीहरुलाई उपचार गर्न अप्ठ्यारो परेको जानकारी दिए । साथै उनले भेन्टिलेटरको खरिदको लागि प्रदेश सरकारसँग अनुरोध गरेको र सोही बमोजिम उपचार केन्द्रमा पोर्टेवल भेन्टिलेटर जडान गरिएको जानकारी दिए ।
‘यो उपचार केन्द्र सिविल मिलिट्रिअन्तर्गत रहनेगरी २०६९ सालदेखि सञ्चालन गरिरहेका छौँ । हालसम्म हामीले १४ हजार सर्पदंशका बिरामीहरुको उपचार गरिसकेका छौँ । यसरी उपचार गरिरहँदा कतिपय बिरामीहरुलाई भेन्टिलेटरमा नै राखेर उपचार गर्नुपर्ने कन्डिसन पनि थियो तर हामीसँग भेन्टिलेटर नै थिएन । यसले गर्दा हामीलाई समस्या भइरहेको थियो । हामीले यो समस्याबारे जानकारी गरायौँ र आज प्रदेशको सामाजिक विकास मन्त्रालयले भेन्टिलेटर उपलब्ध गराएको छ । हामीलाई जिल्ला स्वास्थ्य कार्यालय सुनसरीमार्फत् यो भेन्टिलेटर उपलब्ध भएको हो’, उनले भने । साथै उनले सुनसरीमा चैतदेखि नै सर्पको महामारी सुरु हुने जानकारी दिए । उनका अनुसार पानी परेपछि सर्पहरुले आफ्नो बासस्थान परिवर्तन गर्दछन् । बिहान र बेलुकाको समयमा सर्पले डस्ने खतरा बढी हुने पोखरेलले जानकारी दिए । उनले त्यो समयमा हिँडडूल नगर्न र गरिहालेमा उच्च सतर्कता अपनाउन पनि अनुरोध गरे ।
स्वास्थ्य कार्यालय प्रमुख डा.सागर प्रसाईले यो उपचार केन्द्रमा सर्पले डसेका बिरामीहरु बढी मात्रामा आउने गरेकाले भेन्टिलेटर उपलब्ध गराएको जानकारी दिए । साथै उनले सर्पले डसेका बिरामीहरुमा प्यारालाइसिस हुने र स्वास्वासप्रस्वासमा समस्या हुने भएकाले भेन्टिलेटर अत्यावश्यक हुने जानकारी दिए । भेन्टिलेटरमा राखेर उपचार गर्दा सामान्य रुपमा उपचार गर्दाभन्दा मृत्यु हुने खतरा कम हुने उनको भनाइ छ । यो उपचार केन्द्रमा हालसम्म १४ हजार जना सर्पदंशका बिरामीहरुको उपचार भइसकेको छ । तीमध्ये विषालू सर्पले टोकेका ७८१ जनाको पनि यस उपचार केन्द्रमा सफल उपचार भइसकेको छ ।