गंगा पोद्दार
इटहरीः सुनसरीको इटहरीमा २०५६ सालमा स्थापित सामुदायिक अस्पतालले आफ्नै सुविधा सम्पन्न भवनबाट सेवा सुरु गरेको छ । स्थापनाकालमा सहकारी संस्थाका रुपमा दर्ता भई अनवरत रुपमा स्वास्थ्य व्यवसायमार्फत् नगरका सर्वसाधारणलाई स्तरीय स्वास्थ्य सेवा प्रवाह गर्दै आएको अस्पतालले आफ्नो सेवालाई थप परिष्कृत गर्दै १५ शैय्या बेडसहितको उच्चस्तरीय उपचार सेवा इटहरी ४ हलगडामा सुरु गरेको हो । अस्पतालमा उपलब्ध शैय्याबाट सर्वसुलभ मूल्यमा उपचार सेवा दिइरहेको अस्पतालका सञ्चालक समिति अध्यक्ष टङ्क दुलालले बताए । उनका अनुसार अस्पतालले निकट भविष्यमै शैय्या विस्तार गरी ५० शैय्यासहित सेवा सुरु गर्ने लक्ष्य राखेको छ । दुलाल भन्छन्, ‘ २०५६ सालमा इटहरीमा साँझको समयमा डाक्टर पाइँदैनथ्यो । त्यस्तो विषम परिस्थितिमा हामीले यस क्षेत्रका सर्वसाधारणको घाउमा मलम लगाउनका लागि सहकारी संस्थाका रुपमा सामुदायिक स्वास्थ्य केन्द्र स्थापना गर्ने योजना बनायौँ । निरन्तरको मेहनत र सेवाग्राहीको विश्वासले आज हामी यहाँसम्म आइपुगेका छौँ ।’
स्वास्थ्य सेवा दिने प्रारम्भिक चरणमा सात लाख रुपैयाँको लागतमा सुरु गरिएको अस्पतालले २१ वर्षको अवधिमा सुविधासम्पन्न आफ्नै भवनसहितको विश्वस्तरीय सेवा स्थानीयस्तरमा भित्र्याउन सफल भएको छ । ६ कट्ठा क्षेत्रफलमा फैलिएको अस्पतालमा बिरामीको उपचारका लागि आवश्यक पर्ने सेवाहरुको एकीकृत व्यवस्था मिलाइएको छ । अस्पतालका भवनहरु बहिरङ्ग तथा अन्तरङग सेवा प्रवाहका लागि अत्यन्त भरपर्दा रहेका छन् । अस्पतालले सीटी स्क्यान प्रविधिमा आधारित सम्पूर्ण प्रकारका स्वास्थ्य सेवा उपलब्ध गराउने व्यवस्थापन पक्षले जनाएको छ ।
टाउकोको शल्यकृया अर्थात् न्युरो सर्जरीको सेवासमेत आफ्नै ठाउँमा उपलब्ध हुने भएपछि विराटनगर लगायतका अन्य शहरहरुमा उपचारका लागि धाउनुपर्ने बाध्यताबाट यस क्षेत्रका स्थानीयवासीलाई मुक्ति मिल्ने भएको छ । न्युरो सर्जरीका अतिरिकत अस्पतालले हाडजोर्नीजन्य शल्यकृया सेवा अर्थात् अर्थोपेडिक सर्जरीसमेत सञ्चालनमा ल्याउने भएको छ ।

यसैगरी, प्रसुति तथा स्त्रीरोगको उपचारका लागि अस्पतालले छुट्टै शल्यकृया कक्ष स्थापनाको तयारी गरेको छ । यसबाट यस क्षेत्रका महिलाहरुलाई प्रसुुतिजन्य स्वास्थ्य सेवाको सहज उपयोगको वातावरण तयार हुनेछ । यसका साथै गम्भीर प्रकृतिका बिरामीहरुको जटिल स्वास्थ्य अवस्थालाई मध्यनजर गर्दै प्रभावकारी उपचार सेवा प्रदान गर्ने उद्देश्यले अस्पतालले १० शैय्याको सघन उपचार कक्ष अर्थात् आईसीयू सेवासमेत सञ्चालन गर्ने तयारी गरेको छ । देशभरमै सघन उपचार कक्षको चरम अभाव भइरहेका बखतमा सामुदायिक अस्पतालले सञ्चालनमा ल्याउन लागेको आईसीयू सेवाले बिरामीको जीवन रक्षा गर्ने दायित्व पूरा गर्न टेवा पुर्याउनेछ ।
इटहरी क्षेत्रमा गुणस्तरीय तथा अत्याधुनिक ल्याब सेवाको अभावमा रोगको पहिचानमा उत्पन्न भइरहेको कठिनाइलाई सहजीकरण गर्न अस्पतालले अत्याधुनिक उपकरणयुक्त ल्याब सेवासमेत सञ्चालनमा ल्याएको छ । सस्तो मूल्यमा उपलब्ध हुने ल्याब सेवाको प्रयोगबाट रोगको सिघ्र पहिचान हुन गई सम्भावित स्वास्थ्य जोखिम न्यूनीकरण गर्न मदत पुग्ने अस्पतालको विश्वास छ । अस्पतालमा चौबीसै घण्टा चिकित्सक सहितको आकस्मिक सेवा उपलब्ध रहेको छ । स्वास्थ्य सेवालाई प्रमुख कर्तव्य मानी अस्पतालका चिकित्सकहरुले अहोरात्र आकस्मिक उपचार सेवा प्रदान गरी सर्वसाधारणको जीवनरक्षा गरिरहेका छन् ।

135294518_1049573348891520_8642388988599440402_n
सामुदायिक अस्पतालले दैनिक रुपमा एमडी स्तरका कन्सल्टेन्ट चिकित्सक सहितको बहिरङ्ग सेवा सञ्चालन गरिरहेको छ । एमडी अर्थात् स्नातकोत्तर तह उत्तिर्ण चिकित्सकले दिने विशिष्टिकृत सेवाको लाभ यस अस्पतालमा आउने सेवाग्राहीले अन्यत्रभन्दा आधा शुल्कमा उपभोग गर्न पाउने भएका छन् । विराटनगर लगायतका शहरमा सञ्चालित निजी अस्पतालहरुमा एमडी चिकित्सकको सेवा शुल्क पाँच सय रुपैैयाँभन्दा बढी रहेको पृष्ठभूमिमा यस अस्पतालले मात्र दुई सय २० रुपैयाँको शुल्कमा एमडी चिकित्सकको सेवा दिइरहेको छ । अस्पतालमा दैनिक सात जनाभन्दा बढी चिकित्सकले ओपीडीमार्फत् सेवा प्रवाह गरिरहेको अस्पताल व्यवस्थापन समितिले जनाएको छ । यसका अतिरिक्त अस्पतालले साप्ताहिक रुपमा समेत विभिन्न विधाका विशेषज्ञ चिकित्सकको सेवा सर्वसुलभ शुल्कमा उपलब्ध गराइरहेको छ ।

नवनिर्मित भवनबाट सेवा सुरु गरिसकेको अस्पतालले भौतिक संरचना निर्माणको काम जारी रहेको भन्दै आगामी ६ महिनाभित्र पूर्ण क्षमतामा सेवा प्रदान गर्ने प्रतिबद्धता अध्यक्ष दुलालले व्यक्त गरे । अस्पतालले विपन्न नागरिकको उपचारमा निजको आर्थिक अवस्था हेरी सहुलियतपूर्ण सेवा उपलब्ध गराउने गरेको छ । सामाजिक उत्तरदायित्वको सिद्धान्त अनुसार सर्वसाधारणले उपचार सेवाबाट बञ्चित हुनुपर्ने अवस्था आउन नदिन सबै प्रकारका सेवामा सहुलियत उपलब्ध गराउने अस्पतालले जनाएको छ । यसका अतिरिक्त अस्पतालकै आयोजनामा हुृने स्वास्थ्य शिविरमार्फत् विभिन्न ठाउँमा रहेका विपन्न नागरिकको निःशुल्क स्वास्थ्य परीक्षण तथा औषधि वितरणसमेत गरिँदै आएको अस्पतालका कोषाध्यक्ष हेम गुरुङले बताए ।अस्पतालले नेपाल सरकारको समन्वयमा निःशुल्क प्रसुति सेवा सञ्चालन गरिरहेको छ । यसका साथै सरकारबाट स्वीकृतिप्राप्त अन्य स्वास्थ्य सेवाका कार्यक्रमहरु पनि विस्तार गर्दै जाने अस्पतालको योेजना रहेको छ । हाल अस्पतालमा आउने सेवाग्राहीले सरकारद्वारा प्रदान गरिएको स्वास्थ्य बिमा कार्डमार्फत् सहुलियत दरमा स्वास्थ्य परीक्षण तथा उपचार सेवासमेत पाइरहेका छन् ।