इटहरीः लागूऔषध प्रयोगकर्ता अभिभावक र परिवारका लागि टाउको दुखाइको विषय बनिरहेका छन् । छोराछोरी अरुको लहैलहैमा लागेर होस् या आफूखुसी लागूऔषधको व्यसनमा लाग्दा परिवारलाई सास्ति हुने गरेको छ । लागूऔषधको लतमा लाग्न जति सजिलो छ, त्यो भन्दा कयौँ मुस्किल छ यसको लतलाई छोड्न । यस्ता कुलतबाट हटाउने एक अचुक उपाय हो रिह्याब सेन्टर । तर, कतिपय निम्न आर्थिक स्तर भएका परिवारका छोराछोरी कुलतमा फस्दा परिवारले रिह्याब सेन्टरमा राखेर उपचार गर्न सक्दैनन् ।

त्यस्तै समस्यामा परेकालाई निःशुल्क उपचार गराइदिने हेतुका साथ इटहरीमा हेल्पिङ ह्यान्ड क्लबको स्थापना भएको छ । शुक्रबार इटहरी उपमहनगरपालिका ५ हलगडामा एक कार्यक्रम गरी क्लबको विधिवत स्थापना गरिएको हो । क्लबको अध्यक्षमा राजेश राई नियुक्त भएका छन् । उनी आफैँमा पहिले कुलतमा फसेर रिह्याब सेन्टरमा बसेका मान्छे हुन् । उनले आफू कुलतमा फसेर रिह्याब सेन्टरमा बस्दा धेरै कुरा सिकेको र अन्य व्यक्तिलाई यस्तो समस्याबाट मुक्ति दिन क्लबको स्थापना गरिएको जानकारी दिए । साथै उनले यो क्लबले यस वर्ष २१ जनालाई विराटनगर र इटहरीमा रहको रिह्याब सेन्टरमा निःशुल्क उपचार गरिदिने जानकारी दिए । उनका अनुसार क्लबको पहलमा आर्थिक अवस्था कमजोर भएका लागूऔषध प्रयोगकर्तालाई कुलतबाट छुटाउन ३ महिला र १८ जना पुरुषको निःशुल्क उपचार हुन लागेको हो ।

रिजवन फेलोसिप विराटनगरमा पाँच जना पुरुष, नवज्योति सुधार केन्द्र विराटनगरमा एक जना पुरुष, मुक्ति केन्द्र इटहरीमा एक जना पुरुष, मोक्ष पुनर्जीवन केन्द्र इटहरीमा तीन जना पुरुष, एक नेपाल इटहरीमा तीन जना महिला र तीन जना पुरुष, सहारा पुनर्जीवन केन्द्र इनरुवामा एक जना पुरुष र रक्षा फाउन्डेसन पकलीमा एक जना पुरुषको क्लबले निःशुल्क उपचार गर्ने भएको हो ।