इटहरीः नेपाल सरकारको संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले निर्वाचन आयोगका एक सहसचिवको सरुवा गरेको छ ।

सरुवा हुनेमा सहसचिव लक्ष्मीप्रसाद गौतम रहेका छन् । आयोगको कानून महाशाखामा कार्यरत रही पछिल्लो समय विकसित नेकपाको आधिकारिकता विवादसमेत हेर्दै आएका गौतमलाई आयोगसँग कुनै परामर्श नगरी सरकारले सरुवा गरेको हो । नेकपाका प्रचण्ड माधव नेपाल र केपी ओली खेमाले नेकपा नाम र सूर्य चिन्ह आफ्नो भएको दाबी गर्दै आ आफ्नो पक्षमा निर्णयका लागि आयोगसमक्ष निवेदन दिएको पृष्ठभूमिमा बिनापरामर्श सरकारले गरेको सहसचिव सरुवाको निर्णयले नेकपाको आधिकारिकता विवादबारे निर्णय दिने कार्यमा बाधा उत्पन्न हुनसक्ने आयोगको चिन्ता छ ।

निर्वाचन आयोगका एक आयुक्तले कुनै पनि आयोगका कर्मचारी सरुवा गर्दा सम्बन्धित आयोगसँग परामर्श गर्नुपर्नेमा सरकारले त्यसतर्फ चासो नदेखाएको बताउँदै यस प्रकारको एकतर्फी निर्णयले आयोगको कार्यसम्पादन क्षमता प्रभावित हुनसक्ने उल्लेख गरे । उनले भने, संवैधानिक आयोगहरूमा कर्मचारी सरूवा गर्दा कम्तिमा आयोगहरूसँग परामर्श गर्नुपर्छ भन्ने हाम्रो पहिलादेखि कै कुरा हो। तर त्यसको सुनुवाइ भएको छैन, यसले आयोगको कार्यसम्पादन प्रभावित हुन्छ ।’