इटहरीः आज माघ १ गते अर्थात् राष्ट्रिय योग दिवस । देशभर विभिन्न कार्यक्रम गरी मनाइँदैछ ।

२०७२ सालदेखि निरन्तर रुपमा मनाइँदै आएको यो दिवसको यस वर्षको नारा ‘गरौँ योग डटेर, कोभिड जान्छ हटेर’ तय गरिएको आयुर्वेद तथा वैकल्पिक चिकित्सा विभाग टेकुले जनाएको छ । योग प्राणायाम, आयुर्वेद र जडीबुटीको विकास गरी हरेक व्यक्ति, परिवार, समाज र राष्ट्रलाई स्वस्थ, समुन्नत र समृद्ध बनाउने अभियानस्वरुप सरकारले २०७२ साउन २८ गते मन्त्रिपरिषद्को बैठकबाट माघ १ गते राष्ट्रिय योग दिवस मनाउने निर्णय पारित गरेको थियो । यसअघि सरकारी स्तरबाट योग दिवसको कुनै औपचारिक कार्यक्रम गर्ने परम्परा थिएन । यद्यपी, डा हरिप्रसाद पोख्रेलले व्यक्तिगत प्रयासमा योगका क्षेत्रमा आबद्ध विभिन्न गैरसरकारी संस्थासँग सहकार्य गरी २०३६ सालदेखि नै विश्व योग दिवस मनाउने गरेका थिए । सरकारी स्तरबाट देशव्यापी रुपमा योग दिवस मनाउने निर्णय भएपछि शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले संयोजकको भूमिका निर्वाह गर्दै आएको छ ।

यस वर्ष पनि शिक्षा विज्ञान तथा प्रविधि मन्त्री कृष्णगोपाल श्रेष्ठको संयोजकत्वमा मूल समारोह समिति गठन गरेको थियो । यसैबीच, राष्ट्रिय योग दिवसका अवसरमा प्रधानमन्त्री निवास बालुवाटारमा पनि योगाभ्यास गरिएको छ । योगगुरु क्षितिज बराकोटीको प्रशिक्षणमा प्रधानमन्त्री केपी शर्मा ओलीसहित अन्य मन्त्री तथा उच्च पदस्थ सरकारी कर्मचारीहरुको उपस्थितिका बीच योगाभ्यास सम्पन्न भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । योगाभ्यास कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले प्रधानमन्त्री केपी शर्मा ओलीले कोभिड–१९ को प्रकोपबाट वर्तमान विश्व प्रभावित भइरहेका बेला योगको थप महत्व र सान्दर्भिकता बढेको बताए । हिमवत्खण्ड प्राचीनकालदेखि ऋषिमुनिहरुको तपोभूमिका रुपमा रहेकाले नेपाल योगको उद्गमस्थल रहेको तथा योगाभ्यास र आयुर्वेद एक भरपर्दो र प्राचीन उपचार पद्धति भएकाले स्वस्थ्य रहनका लागि यसलाई नियमित अभ्यासमा लानुपर्ने ओलीको भनाइ थियो ।