इटहरीः नेवार सुन्दरीहरुको सौन्दर्य प्रतियोगिता मिस नेवाः नेपाल नजिकिएसँगै यो प्रतिस्पर्धाका प्रतियोगीहरुको व्यस्तता दिनदिनै बढ्दै गएको छ ।

नेवार समुदायको कला, धर्म, सँस्कृति, भाषा र भेषभुषा चिनाउने तथा यसको पहिचानलाई जीवन्त राख्ने अभियानअन्तर्गत नेप्लीज फेसन होमले आयोजना गर्दै आएको यो प्रतियोगिताका प्रतियोगीहरुको व्यस्तता आयोजकको तर्पmबाट प्रदान गरिँदै आएको विभिन्न तालिम, प्रशिक्षण र भ्रमणका कारण बढ्दै गएको हो । यसै क्रममा १५औं संस्कराण्को मिस नेवाः नेपाल ११४१ का प्रतियोगीहरुले विश्व शान्तिको कामना गर्दै राजधानीको महाँकाल र संकटा मन्दिरमा पूजाआजा गरेका छन् । प्रतियोगीहरुले कोभिडको संक्रमण हटोस् र देशमा स्थिरता छाओस् तथा विश्वमा शान्ति होस् भन्ने कामना गर्दै शुक्रवार महाँकाल मन्दिरमा लाख बत्ती बालेका छन् । शनिवार यही कामना गर्दै नेवार सुन्दरीहरुले संकटा मन्दिरमा पनि पूजाआजा गरेका छन् ।

मिस नेवाः नेपालको आयोजक संस्था नेप्लीज फेसन होमकी अध्यक्ष हेमा मानन्धरका अनुसार नेवार सुन्दरीहरुलाई कला, धर्म, संस्कृति, भाषा र भेषभुषाबारे ज्ञान दिने क्रममा हरेक वर्ष विश्व शान्तिको कामना गर्दै मन्दिरमा लगेर लाख बत्ति बाली पूजा आजा गराउने क्रममा यस वर्ष पनि त्यसलाई निरन्तरता दिइएको हो । यस वर्षका मिस नेवाः नेपाल आगामी फागुन ७ गते राजधानीको नेपाल प्रज्ञा प्रतिष्ठानमा हुँदैछ । मिस नेवाः नेपाल ११४१ मा १५ जना नेवार सुन्दरी अन्तिम प्रतिस्पर्धामा स्पर्धा गर्दैछन् । उनीहरुलाई विभिन्न विधाको तालिम र प्रशिक्षण दिइरहेको नेप्लिज फेसन होमकी अध्यक्ष हेमा मानन्धरले जानकारी गराइन् । नेप्लिज फेसन होमले डेढ दशकदेखि नेवार समुदायका युवतिहरुका लागि मिस नेवाः नेपाल आयोजना गर्दै आएको छ भने नेवार समुदायका बालिकाहरुका लागि लिटिल मिस नेवाः आयोजना गर्दै आएको छ ।