धरानः साहित्यकार तथा पूर्व सांसद कुन्ता शर्माको पछिल्लो कविता सङ्ग्रह ‘मेरो मान्छे’ माथि धरानमा विमर्श गरिएको छ । विमर्श कार्यक्रममा कवि शर्माले स्वास्नी मान्छेले सधैँ अग्निपरीक्षा दिइरहनुपर्ने पद्धतिको अन्त्य हुनुपर्ने बताइन् ।
रामायणकी सीता र आफ्नो जीवनबीच तुलना गर्दै उनले आफ्ना पति मञ्जुलसँग छुटिँदा कुनै दुःख नलागेको बताइन् । कलरवले आयोजना गरेको कार्यक्रममा शर्माले आफ्नो निजी जीवन खोतल्दै पतिसँग छुट्टिएपछि साहित्यमा र राजनीतिमा आफू सफल भएको बताइन् । उनले भनिन्, ‘शायद हाम्रो सम्बन्ध नटुटेको भए म सार्वजनिक जीवनमा हुन्नथेँ । घरभित्रै खाना पकाइरहेकी हुन्थेँ ।’
विश्वमा भइरहेको हत्या, हिंसालाई नदेख्ने, नहेर्ने र नलेख्ने हो भने कवि हुनुको औचित्य, नहुने पनि उनले बताइन् ।
नयाँ वर्ष २०७६ को अवसर पारी ३ सय पेजको नयाँ काव्य सार्वजनिक गर्ने पनि उनले उद्घोष गरिन् । संस्मरणको पनि तयारी गरिरहेको उनले बताइन् ।
कृतिमाथि परिचर्चा गर्दैै डा. भीम खतिवडाले शर्माको लेखन पारिजातको बाटोमा रहेको बताए । जीवनवादी सिर्जनामार्फत् सांस्कृतिक रुपान्तरणको आह्वान गरेको उनले बताए ।
डा. इन्दिरा मिश्रले सत्ताको कुरूप पक्षलाई कविताले पर्दाफास गरेको बताइन् । अर्का टिप्पणीकार डा. गोपाल भण्डारीले शर्माका सिर्जना कालजयी हुने गरेको उल्लेख गरे ।