काठमाडौँः काठमाडौँ महानगरपालिकाले आफ्ना मातहतका सबै विद्यालयलाई सञ्चालनको बाटो खोलिदिएको छ ।
कोरोना महामारीका कारण गत चैत ७ गतेदेखि बन्द रहेका विद्यालय १० महिनापछि माघ ११ गतेदेखि सञ्चालनको अनुमति दिएको हो । कामपाको आइतबार बसेको शिक्षा समितिको बैठकले विद्यालय चलाउन बाटो खोलिदिएको हो । समितिका अध्यक्ष एवं कामपाका प्रमुख विद्यासुन्दर शाक्यले स्वास्थ्य मन्त्रालयबाट जारी मापदण्डका आधारमा विद्यालय सञ्चालन कार्यढाँचा तयार गरी कक्षा सञ्चालनको व्यवस्था मिलाउन सबै विद्यालयलाई सूचित गर्ने जानकारी दिए ।
शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले जारी गरेको ‘वैकल्पिक प्रणालीबाट विद्यार्थीको सिकाइ सहजीकरण निर्देशिका–२०७७’ र स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जारी गरेको ‘स्वास्थ्य सुरक्षा मापदण्ड’बमोजिम विद्यालय व्यवस्थापन समिति र अभिभावक सङ्घको अनुगमन तथा रेखदेखमा विद्यालय सञ्चालन गरिने पनि उनले बताए । मङ्सिर पहिलो सातादेखि कामपाका केही संस्थागत विद्यालय पूर्णरूपमा सञ्चालनमा आए पनि सामुदायिक विद्यालय भने आंशिकरूपमा मात्र सञ्चालन भएका थिए । बैठकले नेपाल भाषाका पाठ्यपुस्तक छपाइ गर्न प्रज्ञा प्रतिष्ठानसँग सहकार्य गर्ने निर्णय पनि गरेको छ । हाल कामपामा ९१ सामुदायिक र पाँच सय ४१ संस्थागत विद्यालय रहेका छन् । -रासस