इटहरीः कोरोना भाइरस नियन्त्रणका लागि भारत सरकारले उपलब्ध गराएको कोभिसिल्ड ब्राण्डको भ्याक्सिन संघीय सरकारले प्रदेश १ सरकारलाई पनि उपलब्ध गराएको छ ।
सरकारले आज मात्र नौ हजार ६ सय भाइल भ्याक्सिन प्रदेश स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्रलाई हस्तान्तरण गरेको केन्द्रका प्रशासकीय अधिकृत काशीराज पराजुलीले बताए । उनका अनुसार प्रत्येक भाइलमा १० जनालाई लगाउन पुग्ने भ्याक्सिन हुन्छ । संघीय सरकारबाट प्राप्त भ्याक्सिन आजै सुनसरी र मोरङ पठाइएको बताउँदै प्रशासकीय अधिकृत पराजुलीले भोलि अन्य जिल्लामा पठाई बुधबारबाट भ्याक्सिन प्रयोग गर्न थालिने जानकारी दिए । उनका अनुसार प्रदेश सरकारलाई प्राप्त भ्याक्सिन सरकारी तथा निजी अस्पतालका स्वास्थ्यकर्मी र कर्मचारी, महिला स्वास्थ्य स्वयम्सेविका गरी ३४ हजार आठ सय ५१ जना र सात सय २५ सरसफाइ कर्मचारी गरी प्रदेशका ३५ हजार पाँच सय ७६ जनामा प्रयोग हुनेछ ।
पहिलो चरणमा मोरङमा १२ हजार एक सय ५६, सुनसरीमा पाँच हजार चार सय २०, झापामा पाँच हजार एक सय ७७, धनकुटामा आठ सय ५८, उदयपुरमा एक हजार दुई सय ७६, भोजपुरमा एक हजार दुई सय ३५, इलाममा एक हजार सात सय २४, ओखलढुङ्गामा एक हजार तीन सय ७१, खोटाङमा एक हजार ६ सय १८, तेह्रथुममा सात सय ९२, सङ्खुवासभामा नौ सय ६१, सोलुखुम्बुमा सात सय ९२ जनालाई खोप दिइने भएको छ ।
यसका अतिरिक्त प्रदेश १ सरकारले नै प्रदेश २ अन्तर्गतका सिरहा र सप्तरीका लागि आवश्यक खोपको पनि बन्दोबस्त गर्ने उनको भनाइ छ । सिरहाका लागि तीन हजार नौ सय ३० र सप्तरीका लागि तीन हजार सात सय ५४ खोप आवश्यक पर्नेमा सोको आपूर्ति प्रदेश १ सरकारले नै गर्ने भएको हो । प्रदेश २ मा कुल ४३ हजार दुई सय ६० जनाले खोप लगाउनेछन् । हाल प्राप्त भएको खोप दुवै चरणका लागि पर्याप्त भएको प्रदेश स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्र विराटनगरले जनाएको छ । कोरोना भ्याक्सिन दुई चरणमा प्रयोग गरिने खोप हो । एक पटक लगाएको चार हप्तापछि यसको दोस्रो मात्रा लगाउनुपर्छ । बेलायतको अक्सफर्ड विश्वविद्यालय र भ्याक्सिन निर्माता कम्पनी अस्ट्राजेनिकाले संयुक्त रुपमा अनुसन्धान गरी पत्ता लगाएको कोभिसिल्ड खोप भारतको भ्याक्सिन निर्माता कम्पनी सिरम इन्स्टिच्युट अफ इन्डियाले औद्योगिक उत्पादन गरी बजारमा ल्याएको हो ।