इटहरीः संघर्ष नै सफलताको सोपान हो भन्ने तथ्यलाई आदर्श मान्ने राधिका कार्की (थापा) समाजको हितलाई सर्वोपरी मानी सिर्जनशीलता र समर्पणका माध्यमबाट सामाजिक रुपान्तरणतर्फ उन्मुख एक सशक्त नारी प्रतिभा हुन् । उनको जीवन समसामयिक समाजका लागि प्रेरणापुञ्ज हुन सक्छ । २०२९ सालमा झापाको गौरादह नगरपालिका ४ मा जन्मिएकी कार्कीको बाल्यावस्थामै अभाव र गरिबीसँग प्रतिस्पर्धात्मक सम्बन्ध स्थापित भयो ।
चरम गरिबीका कारण जीवनका आधारभूत आवश्यकताको परिपूर्ति गर्नसमेत उनले तत्कालीन जटिल परिस्थितिसँग आमने सामने भई रणभूमिमा उत्रनुपर्यो । कठोरतम परिस्थितिले उनको काँधमा पारिवारिक आवश्यकता पूर्तिको बोझ थोपरिदियो । तर, उनले आफ्ना बालसुलभ इच्छा आकांक्षाहरुलाई तिलाञ्जली दिएर भएपनि आफूमाथि आइपरेको जिम्मेवारी कुशलतापूर्वक निर्वाह गरिन् । बाल्यकालमा जुत्ता लगाउने रहरका बाबजुद आर्थिक अभावका कारण चप्पल लगाएर हिँड्नुपर्ने बाध्यता राधिकाको मानसपटलमा अझै ताजै छ । नयाँ लुगा लगाउने इच्छामाथि आर्थिक अभावको बज्र प्रहार हुँदा पुरानै लुगा लगाई आङ ढाक्नु परेको दारुणिक स्मरणले उनलाई भावविह्वल बनाउँछ ।

29512264_1637664923007739_4746618146234635759_n
आफ्ना अभिभावककाा सातमध्ये तेस्रो सन्तानका रुपमा जन्मिएकी कार्कीले हरेक परिस्थितिमा आफ्नो परिवारको संरक्षणका लागि ढाल बनेर उभिइन् । अभावसँगको लडाइँमा विजय प्राप्त गर्न उनले आफूलाई हरेक सीप र लगनशीलताले सम्पन्न बनाइन् । आफूमा रहेको सीप र मेहनतलाई हतियारको रुपमा प्रयोग गरी उनले अभाव र गरिबीका निर्मम प्रहारहरुबाट आफ्नो प्रतिरक्षा गरी नै रहिन् । आफूसँगै रहेका साथीहरु खेलकुद र मनोरञ्जनमा मस्त रहँदा कार्की भने जिविकोपार्जनका लागि कडा शारिरीक श्रममा व्यस्त रहिन् । यही व्यस्तताले उनलाई भविष्यको रुपरेखा तयार गर्ने सामथ्र्य प्रदान गर्यो । उनले तत्कालीन आवश्यकता र परिस्थितिलाई आत्मसात गर्दै सामान्य घरायसी कामका अतिरिक्त हलो जोत्ने, धान चुट्नेजस्ता कडा शारीरिक श्रमको क्षेत्रमा पनि आफूलाई अभ्यस्त बनाइन् । अभाव र गरिबीले जतिसुकै सताएपनि राधिकाले आफ्नो शिक्षा प्राप्तिको अभिलाषालाई भने पूरा गरेरै छोडिन् । कक्षा ७ र १० मा अध्ययनरत रहँदा शुल्क भुक्तान गर्न नसकेकै कारण उनको पढाइ दुई वर्षका लागि अवरुद्धसमेत भयो ।
तर उनले आफ्नो शैक्षिक यात्रालाई पुनर्जिवित पार्दै २०६१ सालमा सुनसरीको इनरुवास्थित खुला विद्यालयबाट एस।एल।सी। परीक्षा उत्तिर्ण गरिन् । विभिन्न जटिलताका बीच उत्कट इच्छाशक्ति र दृढ विश्वासका बलमा विद्यार्थी जीवनको फलामे ढोका पार गरेकी राधिका हालसम्म सोही दर्जाको दृढ संकल्पका साथ इटहरीकै जनता बहुमुखी क्याम्पसमा शिक्षाशास्त्र संकायअन्तर्गत स्नातक तह चौथो वर्षमा अध्ययनरत छिन् । आफूले जीवनमा सामना गरेका तमाम आरोह९अवरोहका साथ उनी विगत २० वर्षदेखि सामाजिक कार्यमा समेत सक्रिय रहेकी छन् । २०५७ सालमा इटहरीका उद्यमी तथा व्यवसायी रमेश थापासँग वैवाहिक सम्बन्ध कायम भई त्यस उप्रान्त इटहरीलाई नै कर्मक्षेत्र बनाएकी उनले आफूमा रहेको सीप इटहरी क्षेत्रका महिलाहरुलाई हस्तान्तरण गरी आत्मनिर्भर बनाउने उद्देश्यले २०६६ सालमा महिला सीप विकास केन्द्रसमेत सञ्चालनमा ल्याइन् ।
प्रारम्भिक चरणमा आफैँले टेलर व्यवसाय गरी कमाएको पैसा र आफ्ना साथीहरुको सहयोगमा केन्द्रको कार्यालय सञ्चालन खर्च व्यवस्थापन गरेकी कार्कीले हाल सरकारी तथा गैरसरकारी क्षेत्रको सहयोगबाट केन्द्र सञ्चालन गरिरहेकी छन् । सानैदेखि स्वाबलम्बी स्वभावकी राधिकाले महिलाहरुलाई आत्मनिर्भर बनाई समाजका हरेक क्षेत्रमा उनीहरुको समान सहभागिता सुनिश्चित गर्ने महात्वाकांक्षी उद्देश्यका साथ स्थापना गरेको यस केन्द्रले हालसम्म १० हजार युवालाई स्वरोजगार बनाइसकेको छ ।

 

19667868_1394872577298012_8766898560906509821_o

हाल यो केन्द्रले स्थानीय तहसँग सहकार्य गरी सरकारी स्तरबाट प्रदान गरिने तालिमहरुसमेत सञ्चालन गरिरहेको राधिका सगर्व बयान गर्छिन् । केन्द्रको मासिक खर्च एक लाख रुपैयाँ रहेको र सो रकम विभिन्न संस्थाको सहयोगमा जुटाई समाजलाई आत्मनिर्भरतामुखी बनाउन आफू प्रयासरत रहेको उनी बताउँछिन् । सामाजिक कार्यमा लागेर आफूलाई सन्तुष्टि मिलेको उनको अनुभूति रहेको छ । उनी आफ्नो विगत सम्झँदै समस्याबाट कसैले पनि भाग्न नहुने र सहर्ष आशावादी भएर मेहनत गर्नुपर्ने धारणा राख्छिन् ।

सामाजिक कार्यकै अर्को पाटोका रुपमा उनी इटहरीमा सञ्चालित माया घरको सञ्चालन तथा व्यवस्थापनमा पनि जुटेकी छन् । यस संस्थाले सहाराविहिन बालबालिका तथा ज्येष्ठ नागरिकको निःशुल्क पालनपोषण गर्दै आएको छ । यसै सिलसिलामा मानसिक राृेगले ग्रस्त ज्येष्ठ नागरिक तथा यौन हिंसाबाट पीडित महिलाबाट जन्मिएका बालबालिकाको आवास व्यवस्थापनका लागि भवनको आवश्यकता रहेकाले सो निर्माणका लागि श्रोतको व्यवस्थापन गर्न पनि उनी लागिपरेकी छन् । यो जिम्मेवारी निर्वाह गर्न समाजले आफूलाई निर्दिष्ट गरेका कारण यसलाई पूर्णता दिन कुनै कसुर बाँकी नराख्ने राधिकाको अडान छ ।
सामाजिक क्षेत्रका साथै उनी सांगीतिक क्षेत्रमा पनि उत्तिकै सक्रिय रहेकी छन् । कुशल नृत्याङ्गना हुनुका साथै गायनमा पनि उत्तिकै रुचि राख्ने राधिकाले आफ्नै जीवन संघर्षका कथा बोल्ने गीत सार्वजनिक गर्ने तयारी गरेकी छन् । गीत निष्कासनको तयारी अन्तिम चरणमा पुगेको भन्दै उनले संगीतका माध्यमबाट अनन्त कालसम्म समाजमा सकारात्मक सन्देश प्रवाह गर्ने उद्देश्यले संगीत सिर्जनामा लागेको बताइन् ।

80558188_1281758818701619_537372882007752704_n
आफ्नो गीतले समाजलाई आशावादी हुन प्रेरित गर्ने उनको विश्वास छ । यसका अतिरिक्त आफ्ना जीवनका हरेक भूमिकामा आफूले गरेका अभिनयलाई लिपिबद्ध गरी भावी पुस्ताको मार्गदर्शनका लागि आफ्नो आत्मकथा प्रकाशन गर्ने योजना रहेको पनि उनले सुनाइन् । पूर्वमा मेचीदेखि पश्चिममा महाकालीसम छरिएर रहेका २५ जना संघर्षशील महिलाहरुको जीवन कथा समावेस रहेको ‘पोजिटिभ थिङ्किङ’ नामक पुस्तकमा राधिकाको पनि कथा समावेस रहेको छ ।
यो पुस्तक बेलायतको ‘लिभरपुल जोन मुरे युनिभर्सिटी’ को पाठ्यक्रममा समावेस रहेको छ । उनको संघर्षको कथा विश्व मानव समुदायकै लागि प्रेरणाको स्रोत बन्न सफल भएको छ । तीन छोरी र दुई छोरा गरी पाँच सन्तानकी आमाका रुपमा संयुक्त परिवारको कडा मर्यादा र सँस्कार तथा परम्पराको पालना गर्दै आफूले आफ्नो सामाजिक कार्यप्रतिको लगावका कारण आफ्नो योजनालाई मूर्त रुप दिएको बताउँदै उनी सकारात्मक सोचका साथ आफ्नो क्षमताको उच्चतम उपयोग गर्न सबैलाई आग्रह गर्छिन् ।हिलोमा नै कमल फूल्छ भन्ने उक्ति आफ्नो जीवनमा चरितार्थ भएको उनको भनाइ छ ।