इटहरीः इटहरी प्रहरीले ठूलो सफलता हात पारेको छ । गत पुस ४ गते खोटाङका ५० भन्दा बढी कृषकको एक सय ५० मन अलैँची चोरीमा संलग्नमध्ये चार जनालाई पक्राउ गरी हिजो बिहीबार सार्वजनिक गरेको छ ।
इलाका प्रहरी कार्यालय इटहरीका प्रमुख प्रहरी नायबउपरीक्षक (डीएसपी) अर्जुन केसीका अनुसार चोरीमा संलग्नमध्ये एक जना फरार छन् । फरार भएका ती व्यक्ति नै यो चोरीका मुख्य योजनाकार भएको केसीको भनाइ छ । पक्राउ परेकामध्ये एक जना संघीय समाजवादी फोरमका केन्द्रीय सदस्य, नेपाल सरकार सूचना तथा सञ्चार मन्त्रालयद्धारा जारी भएको पत्रकार परिचयपत्रबाहक जन्तेढुङ्गा साप्ताहिकका दुई जना पत्रकार मात्रिकाप्रसाद पोखरेल र केशव दाहाल रहेको इटहरी प्रहरीले जानकारी दिएको छ । पक्राउ परेकामध्ये केही आर्थिक प्रलोभनमा परेर चोरीमा संलग्न भएकाले सबैलाई कानुन अनुसार कारबाही हुने डि.एस.पी. केसीले जानकारी दिए । केहि समयअगाडि घटनाका मुख्य योजनकार मानिएका व्यक्ति प्रहरीले नियन्त्रणमा लिनै लाग्दा भाग्न सफल भएको भन्दै केसीले उनलाई पक्राउ गरेपछि चोरीको विषयमा थप जानकारी सार्वजनिक गर्न सकिने बताए । ती फरार भएका योजनाकार एक राजनैतिक पार्टीका केन्द्रीय सदस्य रहेको प्रहरीले जानकारी दिएको छ ।
यसरी भयो चोरी
इटहरी प्रहरीले बताए अनुसार हालसम्म फरार रहेका यो घटनाका मुख्य योजनाकारले खोटाङका एक जना अलँैची किसान युवराज राईलाई फोन गरे । बजारमा चल्तिको मूल्यभन्दा बढीमा अलैँची किन्ने भन्दै ती योजनाकारले प्रलोभन देखाएपछि उनलाई अलैँची गाउँमा संकलन गरेर सुनसरीको इटहरीमा ल्याउन राजी गराए । त्यही बामोजिम यो घटनामा पीडितसमेत रहका युवराज राईले गाउँमा भएका किसानबाट एक सय ५० मन अलैँची संकलन गरेर इटहरी ल्याउने तयारी गरे । उनले खोटाङको साकेला गाउँपालिका वडा नम्बर २ बस्ने रन्जीत राई, युवराज राई र अन्य चार जनलाई सो अलैँची गत पुस ४ गते बिक्रि गर्ने उद्देश्यका साथ ट्रकमा हालेर सुनसरीको इटहरी प्रस्थान गरे ।
उनीहरु त्यो अलैची लिएर इटहरी आउँदै गर्दा यो घटनामा पुनः एक जना पात्र थपिन्छन् । इटहरी आउँदै गर्दा आफू साहु भएको बताउने दीपककुमार घिमिरे नाम बताउने एक जनाले फोन गर्छन् । घिमिरेले आफू अलँैची व्यवसायी भएको र आफ्नो गोदाम इटहरी उपमहानगरपालिका वडा नम्बर ५ जनता बस्तीमा रहेको बताउँछन् । त्यति मात्र होइन, घिमिरेले आफ्नो गोदाम सोही ठाउँमा रहेको शेषराज गुरुङको घरमा रहेको युवराज राईलाई बताउँछन् । सोही बमोजिम उनीहरु शनिबार अलैँची लिएर घिमिरेले बताएको ठाउँमा पुग्दछन् । त्यहाँ पुग्दा पुनः यो चोरीको घटनामा एक पात्र थपिन्छन् । ती पात्र एक वृद्ध हुन् । घिमिरे र ती वृद्धलाई युवराज राई समेतको टोलीले जोखेर अलैची दिन्छन् । त्यसपछि घिमिरेले उनीहरुलाई आज शनिबार बैंक बन्द छ भोलि पैसा लिन आउनु भन्दै त्यहाबाट पठाउँछन् । आफू पनि सटर बन्द गरेर त्यहाँबाट निस्कन्छन् ।
आइतबारका दिन युवराजहरुले थाहा पाउँछन् कि ती व्यापारी नभई चोरी गर्ने गिरोह रहेछन् । उनीहरु आइतबार पैसा लिन पाउने आशाका साथ त्यहाँ जान्छन् । अलैँची धनिहरु आइतबार त्यहाँ पुग्दा अलैँची राति नै गोदामबाट उठाएर लगिसकेको थाहा पाउँछन् । त्यहाँ अलैँची र अलँैची किन्ने व्यवसायी भनिने घिमिरेलाई नदेखेपछि उनीहरुले फोन गर्छन् । बारम्बार फोन गर्दा पनि उनको फोन ‘स्विच अफ’ हुन्छ । त्यसछि उनीहरुले आफूहरु ठगिएको थाहा पाउँछन् र इलाका प्रहरी कार्यालय इटहरीमा जाहेरी दिन पुस ७ गते पुग्छन् ।
प्रहरीको प्रारम्भिक सफलता
अहिले प्रहरीले त्यो घटनामा संलग्नमध्ये चार जनालाई पक्राउ गरिसकेको छ । तर, यो आफ्नो प्रारम्भिक सफलता मात्र भएको र मुख्य योजनाकार पक्राउ परी नसकेसम्म लागिपर्ने डि.एस.पी केसी बताउँछन् । चोरीमा संलग्नहरुले धेरै वर्षदेखि यही काम गर्दै आएको र ‘प्रोफेस्नल’ रुपमै काम गरेको थाहा पाएपछि इटहरी प्रहरीले प्रदेश प्रहरीको सहायतामा आफ्नो अनुसन्धान अगाडि बढाएको थियो । प्रहरीले अनुसन्धानको सुरुवात एक सिम कार्ड नम्बरमा प्रयोग भएको नागरिकताबाट सुरु गरेको थियो । सो नागरिकताबाट ५० भन्दा धेरै सिम निकालिएको थाहा पाएपछि प्रहरीको लागि यो घटना झन पेचिलो बन्दै गयो । त्यति मात्र होइन, उनीहरुले प्रयोग गरेको सो नागरिकता पनि ‘नक्कली’ भएको थाहा पाएपछि प्रहरी चकित हुन्छ । त्यत्तिकैमा प्रहरीलाई एक ‘क्लू’ हात पर्दछ । ती चोरीमा संलग्नले बैंक खाता खोल्दा प्रयोग गरेको एक नम्बर प्रहरीले फेला पार्छ । त्यही नम्बरको सहायताले इटहरी प्रहरी र प्रदेश प्रहरीको अनुसन्धान समूहले घटनामा संलग्नहरुको पहिचान मात्र होइन चार जनालाई पक्राउ पनि गर्छ । प्रहरीले ति संलग्नलाई इटहरीका विभिन्न स्थानबाट प्रक्राउ गरेको हो ।