इटहरीः एयर होस्टेजहरुको क्षमता विस्तार तथा व्यक्तित्व विकासका लागि राजधानीमा नाट—मिस एयर होस्टेज इन्टरनेसनलको दोस्रो सिजन सुरु भएको छ ।
नाट मिस एयर होस्टेज इन्टरनेसनको गत मंगलबार नाट कलेजमा सम्पन्न भएको प्रशिक्षण सत्रको ओरेन्टेसन कार्यक्रममा नायक मनिष राउत, कमेडी च्याम्पियनका निर्देशक बिशाल भण्डारी तथा टर्किस एयरलाइन्स कन्ट्री म्यानेजर अब्दुल्ला टन्कर केसिइको उपस्थिति रहेको थियो । नाट कलेजको आयोजना तथा क्रिजोना मिडिया ग्रुपको व्यवस्थापनमा सुरु भएको नाट—मिस एयर होस्टेज इन्टरनेसनलमा ३० जना एयर होस्टेज तथा एयर होस्टेज हुन चाहनेहरुको सहभागिता रहेको छ । प्रतियोगिताले एयर होस्टेजहरुलाई पुरस्कृत गर्नुका साथै एयर होस्टेज हुन खोज्नेहरुको क्षमता अभिवृद्धि गर्न भूमिका खेल्ने इभेन्ट म्यानेजर लभिन अन्सारीको भनाइ छ ।
नाट—मिस एयर होस्टेज इन्टरनेशनलका विजेताले एयरहोस्टेज तालिममा शतप्रतिशत छात्रवृत्ति, म्युजिक भिडियोमा खेल्ने अवसर पाउनुका साथै व्यक्तित्व विकाससँग सम्बन्धित विभिन्न अन्तर्राष्ट्रिय इभेन्टहरुमा सहभागिता जनाउन पाउने बताइएको छ । इभेन्ट म्यानेजर अन्सारीका अनुसार हाल तालिम तथा प्रशिक्षण दिने कार्य भइरहेको सो इभेन्टको फिनाले भने एभरेष्ट होटलमा आयोजना हुनेछ ।