इटहरीः कोजु इन्टरटेन्टमेनको ब्यानरमा हरि लामाको प्रस्तुति र तिर्थराम कोजु र हरि थापाको निर्माणमा तयार भएको चलचित्र ‘गोर्खे’ यही फागुन २१ गतेबाट देशैभर प्रदर्शनमा आउने भएको छ । माघ महिनासम्म जेनतेन सिनेमा हल सञ्चालनमा आएपनि फागुन महिनाबाट भने दर्शक पनि हलसम्म पुग्ने माहोल राम्रो हुने भएर नै चलचित्र ‘गोर्खे’ फागुन २१ गते बाट प्रदर्शनमा आउन लागेको बताए वितरक कारण श्रेष्ठ क्रेजीले । चलचित्रको रिलिज डेटसँगै चलचित्रको पोस्टर पनि सार्वजनिक गरिएको छ । सार्वजनिक पोस्टरमा चलचित्रका मुख्य कलाकारहरुलाई फिचर गरिएको छ । यस चलचित्रलाई नेपाली चलचित्रका महंगा र प्रशंसनीय काम गर्ने प्राविधिकहरुले आफ्नै लगानीमा निर्माण गरेका हुन् ।
केही दिनअघि चलचित्रमा समावेस मुख्य दृश्यसहित टाईटल लिरिकल गीत सार्वजनिक भएसँगै चर्चामा आएको यस चलचित्रका अन्य गीत भने निकै चर्चामा रहेका छन् । चलचित्रको ‘गोर्खे....’ गीत रिलिजसँगै ै चलचित्र हेर्ने र नेपाली चलचित्रलाई माया गर्ने दर्शकको मन जित्नेमा निर्माण पक्ष ढुक्क रहेको छ ।
नेपालको रमणीय स्थानहरु पाल्पा, बर्दघाट ,धम्पुस, पोखरा र काठमाडौँलगायत अन्य स्थानहरुमा छायांकन गरिएको यस चलचित्रलाई निर्देशक किम्मत गौतमले निर्देशन गरेका हुन् । गोर्खे बन्ने सपना बोकेका ५ युवाहरुको पात्रलाई सिनेमामा देख्न पाइने बताए निर्माता हरि थापाले । चलचित्रमा रवीन्द्रप्रताप सेन, अन्जली अधिकारी, अर्जुन गुरुङ्ग, आश्मी लामा, आश्मी श्रेष्ठ, एन्जेल श्रेष्ठ, बालदीप राई लगायतको प्रमुख अभिनय रहेको छ ।
सौरभ लामा र निरज कंडेलले खिचेको यस सिनेमाको कथा भने काजी लिम्बूले लेखेका हुन् । करिब ४५ दिनमा छायांकन सकिएको चलचित्रमा छिन्दु पाख्रिन र हरि लम्सालको संगीत रहेको छ । चलाचित्र फाल्गुनको दोश्रो साताबाट प्रदर्शनमा ल्याउने तयारी भइरहेको बताए निर्माता हरि थापाले । यस्तै चलचित्रको विदेशको शो पनि पक्का भएको निर्माण टिमले जानकारी दिएको छ । चलचित्रलाई मित्र डी गुरुङले सम्पादन गरेका हुन् ।