इटहरीः सुनसरीको इटहरी उपमहागरपालिकाले अपाङ्गता भएका नागरिकहरुलाई सहज रुपमा स्वास्थ्य परीक्षण गर्ने उद्देश्यका साथ स्वास्थ्य शिविर सञ्चालन गरेको छ ।
उपमहानगरले सामाजिक विकास मन्त्रालय प्रदेश १ र करुणा फाउन्डेसनको सहयोगमा शिविर सञ्चालन गरेको हो । इटहरी उपमहानगरपालिकाकी उपप्रमुख लक्ष्मी गौतमले ३ वर्षे योजनाका साथ गत वर्षबाट यो कार्यक्रम सुरु गरिएको जानकारी दिइन् । उनले योभन्दा अगाडि अपाङ्गता परिचयपत्र वितरण गरिसकिएको जानकारी दिइन् । साथै उनले उपमहानगरले यो कार्यक्रमसँगै अपाङ्गता भएकाहरुको पुनःस्थापना र जिविकोपार्जनको लागि पनि सहयोग गर्ने जानकारी दिइन् । ‘हामीले तीन वर्षे योजनाका साथ यो कार्यक्रम ल्याएका छौँ । नौ दिनसम्म चल्ने यो कार्यक्रमले इटहरीका अपाङ्गता भएका व्यक्तिहरुले सेवा पाउनुहुने छ । हामीले दुई चरणमा यो कार्यक्रम गर्दै छौँ । पहिलो चरण अपाङ्गता भएका नागरिकहरुको स्वास्थ्य परीक्षण र दोस्रो चरणमा त्यस्ता नागरिकहरुको पुनःउत्थान र जिविकोपार्जन तथा अध्ययन गर्नेहरुका लागि कुन ठाउँबाट हामीले कसरी सहयोग गर्न सक्छौँ त्यो हामी गर्छौँ’, उनले भनिन् ।
उनले कोरोना महामारीले वैशाख–जेठमा हुनुपर्ने कार्यक्रम ढिलाइ भएको बताइन् । उपमहानगरपालिकाले वडा वडामा गएर त्यस्ता नागरिकहरुको स्वास्थ्य परीक्षण गर्न थालेपछि अपाङ्गता भएका नागरिकहरुको मुहारमा खुसी छाएको छ । उपमहानगरको २ नम्बर वडामा स्वास्थ्य परीक्षण गर्न आएका तिलक खड्काले पहिले अन्य ठाउँमा गएर स्वास्थ्य परिक्षण गर्दै आएकोमा घर गाउँमा शिविर आउँदा सहजता महसुस भएको बताए । ‘यो शिविरले हामीलाई धेरै मद्दत पुगेको छ । पहिले कहाँ कहाँ गएर सेवा लिनुपथ्र्यो । अहिले आफ्नै घरनजिक वडामा सेवा आएको छ । यसले हामी अपाङ्गता भएका नागरिक खुसी भएका छौँ’, उनले भने । उनीजस्तै यहाँ स्वास्थ्य शिविरमा उपचार गर्न आएका मानबहादुर भुजेलले एकद्धार प्रणालिबाट सेवा प्रवाह गरेकोमा खुसी व्यक्त गरे । उनले पहिला विभिन्न सेवाका लागि फरक फरक ठाउँमा जाँदा समस्या हुँदै आएकोमा अहिले त्यो कम भएको बताए ।
‘यहाँ एकद्धार प्रणालीबाट सेवा प्रवाह भएकोमा म एकदम खुसी छु । पहिला परिचय पत्र लिन एक ठाउँ, हूयिल चियर लिन एक ठाउँ र अन्य सेवा लिन अर्कै ठाउँ जानुपथ्र्यो अहिले त्यो झन्झट कम भएको छ । यसमा हामी खुसी छौँ’, उनले भने । उनीहरुजस्तै यहाँ आउने अधिकांश उपमहानगरको यो कार्यक्रमबाट खुसी देखिन्छन् । यो कार्यक्रम इटहरीका २१ वटै वडाहरुमा सञ्चालन हुने उपमहानगरले जानकारी दिएको छ । माघ १८ गतेबाट सुरु भई नौ दिन अर्थात् २६ गतेसम्म चल्ने यो शिविरमा अपाङ्गता भएका व्यक्तिहरुले अधिक लाभ लिने उपमहानगरको बुझाइ छ ।