इटहरीः सुनसरीको इटहरीस्थित प्रिमियर होटल स्कुलले आफ्ना प्रथम शैक्षिक सत्रका विद्यार्थीहरुलाई स्वागत गरेको छ ।

चार महिनाअघि स्थापित स्कुलमा भर्ना भएका विद्यार्थीहरुलाई हिजो एक औपचारिक कार्यक्रम आयोजना गरी स्कुलले स्वागत गरेको हो । स्कुलका सञ्चालक सुनिल भुसालले स्कुलले प्रयोगात्मक विधिबाट जीवनोपयोगी शिक्षा प्रदान गरिरहेको बताए । प्रयोगात्मक शिक्षालाई प्रभावकारी बनाउन विभिन्न विषयका स्तरीय प्रयोगात्मक शिक्षकहरु नियुक्त गरिएको उनले उल्लेख गरे । नागी डान्स सेन्टरका नृत्य प्रशिक्षक वसन्त बस्नेतद्वारा विद्यार्थीहरुलाई नृत्यको प्रशिक्षण दिइनुका साथै विभिन्न खेलकुद तथा संगीतको प्रशिक्षणका लागि पनि दक्ष तथा अनुभवी प्रशिक्षकको व्यवस्था गरिएको उनको भनाइ छ । विद्यार्थीको क्षमता विकास तथा रोजगारीको प्रत्याभूतिका लागि स्कुलले झापाको धुलाबारीस्थित होटल मेची क्राउन र काठमाडौँको एक होटलसँग समझदारी गरिएको पनि उनले जानकारी दिए ।

primier1

उनका अनुसार स्कुलमा ६ महिने डिप्लोमा तथा ३ वर्षे डिप्लोमा तहका कोर्सहरुका अतिरिक्त १० जोड दुई तहमा व्यवस्थापन संकायको अध्यापन भइरहेको छ । हिसान सुनसरीका अध्यक्ष मुकुन्द घिमिरेको प्रमुख आतिथ्यमा सम्पन्न स्वागत समारोहमा प्याब्सनका १ नम्बर प्रदेश सचिव सुमित थापा, प्रेस युनियन सुनसरीका अध्यक्ष पवन अधिकारी, सामाजिक कार्यकर्ता प्रकाश कोइराला लगायतको उपस्थिति रहेको थियो । स्कुलका प्रिन्सिपल सुवास लुइँटेलले स्कुलले सँस्कारसहितको शिक्षा प्रदान गरिरहेको उल्लेख गर्दै विद्यार्थीहरु सामाजिक कार्यमा पनि सक्रिय रहेको बताए । उनका अनुसार स्कुलमा विद्यार्थीको सहभागितामा ६ वटा क्लब सामाजिक कार्यमा सक्रिय रहेको छ ।

विद्यालयले मल्टिमिडिया प्रविधिलाई अध्यापनमा उच्चतम प्रयोग गरिरहेको बताउँदै उनले स्कुलका शिक्षकहरु अतिरिक्त कृयाकलापमा निपुण रहेको हुँदा विद्यार्थीहरुमा सोही अनुरुपको प्रदर्शन प्रतिबिम्बित हुने बताए । कार्यक्रमका अवसरमा विद्यार्थी तथा शिक्षक दुवैले विभिन्न साँस्कृतिक नृत्य तथा गीत प्रस्तुत गरेका थिए । यसका साथै, स्कुलले विद्यार्थीहरुको क्षमता विकासका लागि सञ्चालन गरेको मिस्टर एन्ड मिस प्रिमियर २०७७ का १५ जना प्रतिस्पर्धीहरुले कलात्मक प्रस्तुति दिएका थिए ।

premier3.

premier2