काठमाडौंः नेपालमा लागुऔषध प्रयोगका कारण हेपाटाइटिस ‘सी’ बढ्दै गएको अध्ययनले देखाएको छ ।

राष्ट्रिय एड्स तथा यौनरोग नियन्त्रण केन्द्रले सन् २०२० मा गरेको सर्वेक्षणले एचआईभी संक्रमित प्रत्येक ३७ जनामध्ये २८ जनामा हेपाटाइटिस ‘सी’ संक्रमण भएको देखाएको हो । सातै प्रदेशमा गरिएको सर्वेक्षणले नेपालमा लागुऔषध प्रयोगमार्फत वर्षेनि २.८ प्रतिशत एचआईभी संक्रमित बढ्दै गएको देखाएको छ । जसमध्ये अधिकांश सुई साटासाटको माध्यमबाट सर्ने गरेको पनि सर्वेक्षणले देखाएको छ । सुई साटासाटले एचआईभीसँगै हेपाटाइटिस ‘बी’ र ‘सी’को संक्रमण उच्च हुँदै गएको हो । पाँच वर्षको अवधिमा एचआईभीपछि हेपाटाइटिस ‘सी’ संक्रमण हुनेको दर २६ प्रतिशतले बढेको हो । औषधि नै दुर्लभ रहेको हेपाटाइटिस ‘सी’ यो दरमा बढ्दै जानु नेपालका लागि चुनौती भएको जनस्वास्थ्यविद् डा. समीरमणि दीक्षित बताउँछन् । सरकारले एचआईभी संक्रमितका लागि औषधि र उपचार निःशुल्क गरे पनि हेपाटाइटिस ‘सी’का लागि हालसम्म कुनै उपचार सुरु गरिएको छैन ।

‘तीनवटा अस्पतालाबाट हेपाटाइटिस ‘सी’को उपचार सुरु गर्दैछौँ’
राष्ट्रिय एड्स तथा यौनरोग नियन्त्रण केन्द्रले विश्व स्वास्थ्य संगठनको सहयोगमा हेपाटाइटिस ‘सी’को उपचार सुरु गर्ने भएको छ । संगठनले हाललाई १०० जनालाई पुग्ने गरी उपलब्ध गराएको औषधिमार्फत एचआईभी र हेपाटाइटिस ‘सी’ दुवैको संक्रमण भएकाहरुलाई उपचारको दायरामा ल्याइने केन्द्रका निर्देशक डा. सुधा देवकोटाले बताइन् । हाललाई काठमाडौंका वीर, त्रिवि शिक्षण अस्पताल र शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकुबाट उपचार सेवा सुरु गरिने र क्रमैसँग यसलाई विस्तार गर्दै लैजाने डा. देवकोटाको भनाइ छ । -बाह्रखरीबाट