इटहरीः सुनसरीको इटहरी उपमहानगरपालिका १ र १७ नम्बर वडाको सीमामा अवस्थित काव्यवाटिका क्षेत्र अतिक्रमण गरी उपमहानगरपालिकाले ५ नम्बर वडा कार्यालयको भवन निर्माण गर्न लागेकोमा आपत्ति जनाउँदै उपमहानगर क्षेत्रका कलाकर्मी तथा साहित्यिक व्यक्तित्वहरुले यसको अस्तित्व कायम राख्न उपमहानगरको ध्यानाकर्षण गराएका छन् ।

इटहरी साहित्यिक समूह र स्वतन्त्र समूह इटहरीले आज उपमहानगरपालिकाका मेयर द्वारिकलाल चौधरीलाई भेट गरी वाटिकाको संरक्षणका लागि छुट्टाछुट्टै ज्ञापनपत्र बुझाएका छन् । इटहरी साहित्यिक समाजका तर्फबाट समाजका अध्यक्ष श्रीप्रसाद पोखरेलले बुझाएको ज्ञापनपत्रमा कला, साहित्य र संस्कृतिको धरोहर काव्यवाटिका स्थानीय सरकारको अगुवाइमा अतिक्रमण हुन लागेकोप्रति दुःख व्यक्त गर्दै समाज तथा सार्वजनिक सम्पत्तिको सुरक्षा गर्ने आधिकारिक निकायबाटै सरोकारवाला पक्षको सहमतिबिना हुन लागेको कला, साहित्य, संस्कृतिजस्ता सामाजिक सम्पत्ति नष्ट वा अतिक्रमण गर्ने क्रम रोक्न उपमहानगरपालिकाको ध्यानाकर्षण गराइएको छ । समाजको ज्ञापनपत्रमा भनिएको छ, ‘यस क्षेत्रमा स्थापित कला, साहित्य, संस्कृतिसम्बद्ध पक्ष तथा विज्ञहरूको परामर्श र साझा सहमतिबाट समस्या समाधान गरी काव्यवाटिकाको अस्तित्व अक्षुण्ण राख्न माग गर्दछौँ ।’

1-2 1

यसैगरी, स्वतन्त्र समूहले बुझाएको पत्रमा इटहरी क्षेत्रलाई पृथक पहिचान दिलाउन सफल काव्यवाटिकाको अस्तित्वमा उपमहानगरपालिकाकै कारण खतरा उत्पन्न भएकोमा चिन्ता व्यक्त गर्दै यसको संरक्षण गरी पर्यटन प्रवद्र्धनमार्फत् फाइदा लिन ध्यानाकर्षण गराइएको छ । समूहको ज्ञापनपत्रमा भनिएको छ, ‘कवि, लेखक, कलाकारको पहिचान बोक्ने काव्य वाटिका जसले जसरी सुरु गरे पनि यो एउटा भिन्न पहिचान र पर्यटकीय आकर्षणको गन्तव्यस्थल थियो,’ स्वतन्त्र समूहले भनेको छ, ‘संरक्षण, संवर्धन गर्ने कुरामा बेवास्ता गर्दै यसलाई नामेटपार्ने कुरा झन् ठुलो चिन्ताको विषय हो ।’ ज्ञापनपत्र बुझ्दै मेयर चौधरीले ठाउँको अभावका कारण सो क्षेत्रमा वडा कार्यालय स्थापना गर्न लागेको बताएका थिए । काव्यवाटिकाको संरक्षणका लागि साहित्यकार तथा कलाकर्मीको जोडपछि आफ्नो ध्यानाकर्षण भएको उनको भनाइ थियो ।

गत माघ १६ गते उपमहानगरपालिकाकै अगुवाइमा ५ नम्बर वडा कार्यालय र स्वास्थ्य कार्यालय स्थापनाका लागि भन्दै काव्यवाटिका क्षेत्रमा लगाइएका बोटविरुवा तथा मूर्तिहरुमा क्षति पुर्याइएपछि कलाकर्मीले आपत्ति जनाएका थिए ।  उपमहानगरपालिकाको काव्यवाटिका मास्ने कदमविरुद्ध काव्यवाटिका संरक्षण सरोकार समूह गठन गरी दबाब सिर्जना गर्ने जिम्मा पाएका इटहरीका पत्रकार तथा साहित्यकार सुविद गुरागाईँले काव्यवाटिकालाई कृति र प्रकृतिको संगमयुक्त काव्यिक तिर्थस्थलका रुपमा विकास गर्ने आफूहरुको योजना रहेको तर पटक पटकको ध्यानाकर्षणका बावजुद उपमहानगरपालिकाले बेवास्ता गर्दा समस्या उत्पन्न भएको बताए । तीन बिघा क्षेत्रफलमा फैलिएको काव्यवाटिकाको विकासका लागि सुनसरीका तीन नगरपालिकाहरुको संयुक्त लगानी रहेको बास्केट फन्डबाट ७५ लाख रुपैयाँका साथै पर्यटन मन्त्रालयबाट ६० लाख रुपैयाँ विनियोजन भई खर्च भइसकेको र यस वर्ष पनि मन्त्रालयबाट ४५ लाख रुपैयाँ बजेट विनियोजन भएपनि अपेक्षाकृत कार्यसम्पादन हुन सकेको छैन । ५ नम्बर वडाका वडाध्यक्ष कल्याण कार्की काव्यवाटिका व्यवस्थापन समितिका उपाध्यक्ष रहेकोमा उनकै सक्रियतामा वाटिकाको विनाश गरिएको गुरागाईँको जिकिर छ । उनका अनुसार समितिका अध्यक्ष ठमनाथ लम्साललाई पनि विभिन्न आरोप लगाएर निष्किृय बनाई स्वेच्छाचारी ढङ्गले कार्यसम्पादन भएको हो । समितिको आर्थिक कारोबारको हिसाबसमेत पारदर्शी नभएको गुरागाईँले जानकारी दिए ।

पत्रकार कृष्णविनोद लम्सालको अध्यक्षतामा रहेको संरक्षण समिति भंग गरी राजनीतिक भागबण्डाका आधारमा गठित पछिल्लो समितिले राजनीतिक संरक्षणमा जग्गा दलालसँग सेटिङ गरी काव्यवाटिकालाई कङ्किृटको जङ्गलमा परिणत गरेको गुरागाईँको कथन छ । ५ नम्बर वडाका नागरिकको सेवाका लागि खोल्ने भनिएको वडा कार्यालय १ नम्बर र १७ नम्बर वडाको सीमामा स्थापना गर्दा नागरिकले सेवाको सट्टा सास्ति व्यहोर्नुपर्ने उनी बताउँछन् । ५ नम्बर वडास्थित बज्राहाका स्थानीयलाई यहाँ आउन करिब सात किलोमिटर टाढा पर्ने भन्दै उनले वडाको केन्द्रमा पर्नेगरी जनता बहुमुखी क्याम्पसकोे नजिकै वडा कार्यालय स्थापना गर्नुपर्ने धारणा राखे । उपमहानगरपालिकाले वडा कार्यालय स्थापना गर्न खोजे कानूनी लडाइँ लड्न आफूहरु तयार रहेको भन्दै उनले त्यस ठाउँमा पिकासोका चित्रकलाजस्ता बहुमूल्य कृति राखी कला संग्रहालयका रुपमा परिणत गरिने अडान राखे ।

kabya-1

साहित्यकार मनु मञ्जिलले काव्यवाटिका तत्कालीन सरकारले कला, सँस्कृति, साहित्यजस्ता क्षेत्रको संरक्षण हुने गतिविधि गर्न कलाकारलाई उपलब्ध गराएको बताए । उनका अनुसार सरकारको सहयोग पर्याप्त नहुँदा आर्थिक बाध्यताका कारण कलाकारहरुले यसको संरक्षणमा ठोस काम गर्न नसकेका हुन् । एक पटक कला क्षेत्रलाई दान गरिसकेको सम्पत्ति सरकारले फिर्ता लिनु गैरजिम्मेवारीपूर्ण र निन्दनीय कार्य भएको भन्दै उनले आफूहरुले सरकारको कदमको निरन्तर विरोध गर्ने बताए । सरकारको चरम असंवेदनशीलताका कारण जनजागरण पुस्तकालयसमेत मासिने अवस्थामा पुगेको बताउँदै उनले काव्यवाटिका कुनै पनि हालतमा अतिक्रमण गर्न नदिइने स्पष्ट पारे ।

इटहरी उपमहानगरपालिका परिसरमा कलाकर्मीका लागि स्थापित साँस्कृतिक भवनसमेत उपमहानगरपालिकाले स्वघोषित रुपमा आफैँले प्रयोग गर्न थालेकोमा पनि उनले आपत्ति व्यक्त गरे । कलाकर्मीले कलाको प्रवद्र्धनका लागि वडा कार्यालय र स्वास्थ्य चौकी अन्यत्र सार्न माग गरिरहँदा स्थानीयवासी भने घरदैलोमा आएको पूर्वाधार हटाउन नमिल्ने भन्दै कलाकर्मीको विरोधमा उत्रिएका छन् । सार्वजनिक सम्पत्ति कलकर्मीको मात्र नभएर सबैको साझा भएकाले समान प्रतिफल पाउनुपर्ने भन्दै उनीहरुले वडा कार्यालय र स्वास्थ्य चौकी स्थापनाको बचाउ गरेका छन् । वडा कार्यालय र स्वास्थ्य चौकी स्थापनाको माग आफूहरुले नगरेको भएपनि उपमहानगरको निर्णयको आफूहरुले स्वागत गरेको उनीहरुको भनाइ छ । उपमहानगरपालिकाको अदूरदर्शिताका कारण कलाकर्मी र स्थानीयबीच वैमनस्य उत्पन्न हुने तथा नगरको प्राकृतिक सौन्दर्य र काव्यिक गरिमा धुमिल हुने खतरा उत्पन्न भएको छ ।