इटहरीः केही सातायता इटहरी उपमहानगरपालिकाले बजार तथा होटल अनुगमनलाई तिव्रता दिइरहेको छ ।
कोरोना महामारी कम भएको र नेपाली राजनीति तरल अवस्थामा रहेको बेला बजारमा ग्राहक ठगिने, कालोबजारी हुने भन्दै उपमहानगरले अनुगमनलाई तिव्रता दिएको हो । पुनः आइतबारदेखि उपमहानगरले खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय इनरुवाको संयोजनमा इटहरीमा सञ्चालनमा रहेका होटलहरुको अनुगमन सुरु गरेको छ । खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय इनरुवाका कार्यालय प्रमुख सहितको टोली र इटहरी उपमहानगरको कर शाखाका प्रमुख सहितको टोलीले बजार अनुगमन गरेका हुन् । खाद्य प्रविधिले निर्देशिका नै बनाएर होटल तथा रेष्टुरेन्टहरुको अनुगमन सुरु गरेको खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय इनरुवाका कार्यालय प्रमुख काशीनाथ घिमिरेले जानकारी दिए । उनले खाद्य स्वच्छताको आधारमा होटल रेष्टुरेन्टको स्तरीकरण गर्नेसम्बन्धी निर्देशिका २०७४ बमोजिम इटहरीका सम्पूर्ण होटलहरुको अनुगमन गर्न लागिएको जानकारी दिए ।
उनले खाद्य स्वच्छताको आधारमा होटलहरुलाई चार वर्गमा विभाजन गरिएको बताए । घिमिरेका अनुसार अतिउत्तमलाई ‘क’ वर्ग, उत्तमलाई ‘ख’ वर्ग, सन्तोषजनकलाई ‘ग’ वर्ग र सामान्य तथा सुधार गर्नुपर्नेलाई ‘घ’ वर्गमा राखिने छ । ‘यो होटलको स्तरीकरण गर्ने कार्याक्रम हो । हामीले र्वािषक रुपमा यो कार्यक्रम गर्दै आएका छौँ । हामीले यसअघि होटलमा स्वच्छता के हो ?, होटलमा गुणस्तरीय परिकार कसरी बनाउने भनेर तालिम पनि दिएका थियौँ । त्यो तालिममा हामीले इटहरीका होटललाई स्तरीकरण गर्नुपर्ने महसुस गर्यौँ र अनुगमन सुरु गरेका हौँ’, उनले भने । उनले आइतबार र सोमबार इटहरीका सम्पूर्ण होटलको अनुगमन गरिने र होटललाई स्वच्छताका आधारमा वर्गीकरण गरिने जानकारी दिए । इटहरी उपमहागनरपालिकाका कर शाखा प्रमुख नविन भट्टराईले निर्देशिकाले तोकेका ५० वटा सूचकमा रहेर होटलहरुको अनुगमन गरेको जानकारी दिए ।
उनले प्रत्येक सूचकमा दुई नम्बर दिइने र त्यसको आधारमा नै होटल तथा रेष्टुरेन्टको स्तर तोकिने जानकारी दिए । ‘हामीले विभिन्न ५० वटा सूचकमा रहेर होटलको अनुगमन गरेका छौँ । प्रत्येक सूचकमा हामी दुई÷दुई नम्बर दिन्छौँ । जुन होटलको कुल नम्बर ९० भन्दा माथि आउँछ त्यसलाई हामी अतिउत्तम अर्थात ‘क’ वर्गमा, ८० भन्दा बढी हुनेलाई ‘ख’ वर्गमा, ६० भन्दा माथि आउनेलाई ‘ग’ वर्गमा र त्योभन्दा कम आउनेलाई हामी ‘घ’ वर्गमा राखेर सात दिनसम्म सुधार गर्ने मौका दिन्छौँ’, उनले भने । व्यवसायीले भने यस्तो अनुगमन वर्षमा एक पटक मात्र हुने भएकाले समय समयमा हुनुपर्ने माग गरेका छन् । गोरखा होटल इटहरीका म्यानेजर श्रीप्रसाद गौतमले अनुगमन समय समयमा हुँदा आफूहरुले पनि सुधार गर्ने मौका पाउने बताए । ‘अनुगमनलाई हामी सकारात्मक रुपमा लिन्छौँ । हामी त महिनैपिच्छे अनुगमन होस् भन्ने चाहन्छौँ । जसले गर्दा ‘कस्टमर’हरुले पनि स्वच्छ खाना खान पाउँछन् र हामीले पनि सुधार गर्ने मौका पाउँछौँ’, उनले भने । सोमबारसम्म चल्ने अनुगमनले इटहरीका होटलको स्तर निर्धारण हुनेछ ।