धरान/ नेपाल मेडिकल काउन्सिलले बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानको चिकित्साशास्त्रअन्तर्गत स्नातकोत्तर तह (एमडि/एमएस/एमसिएच) मा विद्यार्थी भर्नाको सिट संख्यामा यो वर्ष वृद्धि गरेको छ ।

काउन्सिलबाट प्रतिष्ठानले गत वर्षको भन्दा यो वर्ष सन् २०१८ को लागि ५१ सिट बढी स्वीकृति पाएको छ । गत वर्ष कुल १ सय १२ सिट स्वीकृति पाएको प्रतिष्ठानलाई काउन्सिलले यो वर्ष भने कुल १ सय ६३ सिट स्वीकृति दिएको छ । ‘यो बीपी प्रतिष्ठानको लागि मात्र होइन, नेपालका सबै विद्यार्थी, अभिभावक र राष्ट्रकै लागि पनि खुशीको कुरा हो ।

‘हामीलाई काउन्सिलले यो वर्ष सिट संख्या बढाएर स्वीकृति दिएको छ,’ प्रतिष्ठानका प्रवक्ता एवं हाडजोर्नी विभाग प्रमुख डा.पशुपति चौधरीले भने, ‘हामीसँग पर्याप्त भौतिक पूर्वाधार, सुविधा र जनशक्ति शिक्षक छ, त्यसैले सिट संख्या बढेको हो ।’

प्रतिष्ठानका अनुसार यो वर्ष काउन्सिलले एमडि/एमएस/एमडिएचए शैक्षिक कार्यक्रममा बेसिक मेडिकल साइन्स, क्लिनिकल साइन्स गरी कुल १ सय ४३ सिट प्रतिष्ठानलाई स्वीकृति दिएको छ । जबकि अघिल्लो वर्ष यही शैक्षिक कार्यक्रममा मात्र ९९ सिट काउन्सिलले अनुमति दिएको थियो ।

यस्तै, एमडिएस शैक्षिक कार्यक्रमतर्फ अघिल्लो वर्ष १३ सिट भएकोमा यो वर्ष बढेर १६ पुगेको छ । मेडिकल काउन्सिलबाट अघिल्लो वर्ष एउटा पनि सिट नभएको डिएम/एमसिएचमा ४ वटा सिट पाएको छ । जसमा डिएमतर्फ ३ वटा र एमसिएचमा एउटा सिट रहेको छ । एमडि÷एमएसतर्फको कुल सिट १ सय ४३ मध्ये ५१ वटा स्पोन्सर, ६४ वटा ओपन र २८ वटा विदेशी कोटाको सिट भएको प्रतिष्ठानले खुलाएको छ । एमडिएसतर्फको १६ सिटमध्ये ७ वटा स्पोन्सर र ९ वटा ओपन क्याटोगरीको सिट रहेको छ । एमडि/एमसिएचको ४ वटा र एमडिएमएको एउटा सिट पनि ओपन क्याटोगरीको हो ।
प्रतिष्ठानमा बायोकेमेस्ट्री, म्युनिटी मेडिसिन एण्ड ट्रपिकल डिजिज, फोरेन्सिक मेडिकल, फर्माकोलोजी, बेसिक एण्ड क्लिनिकल फिजिओलोजी, माइक्रोबायोलोजी एण्ड इन्फेक्सन डिजिज, प्याथोलोजी, क्लिनिकल साइन्स, एनेस्थेसियोलोजी एण्ड क्रिटिकल केयर मेडिसिन, डर्माटोलोजी एण्ड एसटिडि, जेनरल प्राक्टिस एण्ड इर्मेजेन्सी मेडिसिन, गाइनोकोलोजी एण्ड अब्स्ट्रेटिक्स, इन्टरनल मेडिसिन, अप्थोमोलोजी, अर्थोपेडिक्स, पेडिएट्रिक्स,साइक्रिएट्री, रेडियोडाइग्नोसिस एन इमेजिङ र सर्जरीको सिट वृद्धि भएको छ । एमडिएस शैक्षिक कार्यक्रममा पब्लिक हेल्थ डेन्टिस्ट्री, ओरल म्योडिसिन एण्ड रेडियोलोजी र प्रोस्थोडोन्टिक्समा पनि सिट बढेको प्रतिष्ठानले जनाएको छ ।

प्रतिष्ठानका प्रवक्ता डा.चौधरीका अनुसार स्नातकोत्तर तहको सिट संख्यामा मात्र बढेको होइन, पढ्न चाहने विद्यार्थीको संख्या पनि बर्सेनी बढिरहेको छ । स्नातकोत्तर तह (पोष्ट ग्रयाजुएट) मा पढ्न चाहने र प्रवेश परीक्षामा सहभागी हुने विद्यार्थीको संख्या हरेक वर्ष वृद्धि भइरहेको छ । यही शनिबार प्रतिष्ठानमा पिजितर्पm एमडि/एमएसमा भर्ना हुन चाहने १ हजार ८ सय ८२ जना विद्यार्थी प्रवेश परीक्षामा सहभागी भएका थिए । प्रतिष्ठानका अनुसार यो गत वर्षको भन्दा बढी हो । गत वर्ष सन् २०१७ मा १ हजार ६ सय ६१ जनाले प्रवेश परीक्षा दिएका थिए भने सन् २०१६ मा १ हजार ७६ जना मात्र थिए ।
‘हाम्रो पूर्वाधार, सुविधा र गुणस्तरको कारण विद्यार्थीमा आकर्षण छ, तर सीमित सिट संख्याको कारण सबैले पढ्न भने पाउँदैनन्,’ प्रवक्ता चौधरीले भने ।