झापाः भारतसँगका सीमा नाका नखुल्दा व्यवसायीहरू मारमा परेका छन् । कोरोनाका कारण बन्द भएका सीमानाकाहरू अहिलेसम्म पनि खुलेका छैनन् ।

नाका बन्द हुँदा सीमा क्षेत्रका बजार र होटेल व्यवसाय सङ्कटग्रस्त बनेका छन् । झापाका सीमावर्ती बजारहरू काँकडभिट्टा, धुलाबारी, भद्रपुर, गौरीगञ्जलगायत खुलेका छन् तर चहलपहल छैन । कोभिड–१९ को महामारी नियन्त्रणका लागि खोप लगाउन सुरु भइसक्दा पनि सरकारले नाका खोल्नेतर्फ ध्यान नदिँदा मारमा परेको व्यवसायीहरूको गुनासो छ । सरकारले गत वर्षको चैत ११ गते बन्दाबन्दी घोषणा गरेसँगै सीमा नाका बन्द भएका थिए । त्यसको तीन महिनापछि बन्दाबन्दी खुल्यो, तर नाका खुलेन । एघार महिनादेखिको लगातार नाका बन्दले सीमा क्षेत्रको होटेल र अरू व्यवसाय चौपट भएको होटेल व्यवसायी सङ्घ मेचीनगरका अध्यक्ष सुरेशकुमार श्रेष्ठले बताए ।

उनका अनुसार पूर्वीद्वार काँकडभिट्टामा मात्र चार सयभन्दा साना ठूला होटेल सञ्चालनमा छन् । यसै वर्ष मेचीनगरमा खुलेको पाँचतारे होटेल मेची क्राउन पनि नाका नखुल्दा पर्यटक अभावमा सङ्कट झेलिरहेको छ । अध्यक्ष श्रेष्ठका अनुसार बन्दाबन्दीयता काँकडभिट्टाका थुप्रै होटेल व्यवसायी पलायन भइसकेका र कतिले भाडा तिर्न नसक्दा होटेलको तालाचाबीसँगै फर्निचरलगायत सामान घरधनीलाई बुझाएर व्यवसाय त्यागेका छन् । होटेल व्यवसायीहरूले नाका खुलाउन स्थानीय, प्रदेश र सङ्घीय सरकारलाई समेत गुहारे । काँकडभिट्टामा व्यवसायीहरूले सङ्घर्ष समिति गठन गरेर एक महिना निरन्तर आन्दोलन सञ्चालन गरे । नाराजुलुस, धर्ना र सभाको बाक्लै कार्यक्रम आयोजना गर्दासमेत सरकारले व्यवसायीको पीरमर्का नसुनेको अध्यक्ष श्रेष्ठले गुनासो गरे । इलाका प्रहरी कार्यालय काँकडभिट्टाका प्रहरी नायब उपरीक्षक सुनिल दाहालले माथिबाट आदेश नआएसम्म नाका नखुल्ने बताए । तर आवश्यक कामकाजका लागि स्वास्थ्य मापदण्ड पूरा गरेर नाकाबाट दुवै देशका नागरिकले आउजाउ गर्न पाइरहेको उनले जानकारी दिए ।

‘पहिलेको भन्दा अहिले नाकालाई सहज तुल्याइएको छ,’ प्रहरी नायब उपरीक्षक दाहालले भने, ‘तर कोरोनाको जोखिम अझै सकिएको छैन भन्ने कुरा आम जनसमुदायले बिर्सनु हुँदैन ।’ भारतबाट आँखाको उपचारका लागि काँकडभिट्टा हुँदै दिनहुँ सयौँ भारतीय नागरिक नेपाल आउने गर्छन् । उपचारका लागि नेपाल आउने र नेपालबाट भारत जानेलाई अवरोध नगरिएको प्रहरीको भनाइ छ । विगतको तुलनामा हाल नाकामा आवतजावत खुकुलो बनाइए तापनि पर्याप्त नभएको व्यवसायीहरुको भनाइ छ । कोभिडको खोपसमेत सर्वसाधारणले लगाउन थालिसकेको अवस्थामा सीमाका नाकाहरू पूरै खुला गरिनुपर्ने अध्यक्ष श्रेष्ठले बताए । शिक्षण संस्था, अस्पताल, सुपरमार्केट, यातायातलगायत सबै क्षेत्र खुला भइसकेको अवस्थामा सीमा नाकामात्र बन्द गरिनु असङ्गत भएको व्यवसायीको गुनासो छ । -रासस