इटहरीः सुनसरीको इटहरीमा सञ्चालनमा रहेको इटहरी मेडिकल स्थापना भएको २५ वर्ष पुगेको छ ।

बिहीबार एक कार्यक्रमका बीच मेडिकलले आफ्नो रजत जयन्ति मनाएको छ । इटहरी उपमहानगरपालिकाका प्रमुख द्वारिकलाल चौधरी, उद्योग वाणिज्य संघ इटहरीका अध्यक्ष भिमबहादुर पौडेल, होटल व्यवसायी संघ इटहरीका अध्यक्ष जीवन पराजुली, इलाका प्रहरी कार्यालय इटहरीका प्रहरी नायबउपरीक्षक अर्जुन केसी लगायतको उपस्थितिमा मेडिकलले रजत जयन्ति मनाएको हो । कार्यक्रममा बोल्दै उद्योग वाणिज्य संघ इटहरीका अध्यक्ष भिमबहादुर पौडेलले अन्य क्षेत्रमा इटहरी सम्पन्न भए पनि स्वास्थ्य क्षेत्रमा पछाडी नै रहेको जानकारी दिए । उनले विकासोन्मूख इटहरीमा मेडिकल पसल तथा स्वास्थ्य संस्थाको विशेष भूमिका रहने बताए । यस्तै इटहरी उपमहानगरपालिकाका प्रमुख द्वारिकलाल चौधरीले इटहरी बन्दै गर्दा स्थापना भएको यो मेडिकलको स्वास्थ्य क्षेत्रमा विशेष भूमिका रहेको बताए ।

उनले सुलभ शुल्कमा स्तरीय सेवा प्रदान गरेको भन्दै मेडिकललाई धन्यवाद ज्ञापन गरे । मेडिकलले आफ्नो नियमित कामका अतिरिक्त मानव सेवामा पनि विशेष भूमिका खेल्दै आएको जानकारी दिएको छ । रजत जयन्तिको अवसरमा मेडिकलले रक्तदान कार्यक्रमको पनि आयोजना गरेको थियो । जसबाट ५७ पिन्ट रगत संकलन भएको मेडिकलले जानकारी दिएको छ । यस्तै कार्यक्रममा तीन जना फरक क्षेत्रका व्यक्तिहरुलाई सम्मान पनि गरिएको छ । समाजसेवाको क्षेत्रबाट निःसहाय बालबालिका सेवा आश्रमकी गीता गौतम, कलाकारिताको क्षेत्रबाट इटहरीका गायक प्रीतम आचार्य र पत्रकारिता क्षेत्रबाट वरिष्ठ पत्रकार कृष्णविनोद लम्साललाई मेडिकलले सम्मान गरेको थियो । यस्तै मेडिकलमा कार्यरत कार्मचारीमध्ये उत्कृष्ट चार जनालाई पनि मेडिकलले सम्मान गरेको थियो ।