वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानका चिकित्सा तथा दन्तचिकित्सा शिक्षण कल्याण समाजले उपकुलपति प्रा. डा. ज्ञानेन्द्र गिरीको कार्यकक्षमा बुधबार ताला लगाएको छ।

प्रतिष्ठानका उपकुलपति प्रा. डा. गिरी प्रतिष्ठानका चिकित्सकहरूको बढुवा प्रक्रिया लगायत अन्य कार्यको लागि काठमाडौँ गएको बेला समाजले ताला लगाएको हो । यसअघि माघ २६ गते प्रतिष्ठानका चारै पदाधिकारीहरू समाजसंग बसेको वार्तामा उपकुलपति गिरीले बढुवा प्रक्रियाको लागि रजिष्ट्रार प्रा. डा. मोहनचन्द्र रेग्मी र शिक्षाध्यक्ष प्रा. डा. गुरूप्रसाद खनाललाई जिम्मेवारी दिएको बताउँदै आवश्यकता परेमा आफूसमेत मन्त्रालय पुग्ने खुलाएका थिए । त्यसै अनुसार मन्त्रालय पुगी बढुवाको फाइललाई लोकसेवा आयोगसम्ममा पुर्याएर तार्किक निष्कर्षसम्म पुर्याउन पहल गर्ने उपकुलपति गिरीले बताएका छन् ।

bp talabandi2.

बढुवाको लागि मन्त्रालयमा मंगलबारसम्म भएको सम्पूर्ण जानकारी उपकुलपति गिरीले समाजका अध्यक्षलाई गराई बढुवाको प्रक्रिया सकारात्मक भइरहेकोले तालाबन्दी रोक्न आग्रह गरेका थिए । तर उपकुपतिको आग्रहलाई अस्वीकार गर्दै पूर्वनिर्धारित कार्यक्रम बताउँदै समाजले तालाबन्दी गरेको सहप्रवक्ता डा. चुरामणि पोखरेलले बताए । यसअघि माघ २९ गते मात्र प्रतिष्ठानको फोहोरमैला व्यवस्थापन समितीका सदस्य डा. रिता खड्काले फोहोर व्यवस्थापनका लागी चारै पदाधिकारी माझ प्रतिवेदन प्रस्तुत गरेकी थिइन् । उक्त प्रतिवेदन प्रस्तुत गर्दा अधिकतम दुई महिनाको समयमा फोहोरमैला व्यवस्थापन हुने उपकुलपति गिरीले प्रतिबद्धता जनाएका थिए । यस्तै, समाजको अन्य जायज मागहरूले प्रतिष्ठानमा आर्थिक तथा सामाजिक स्तरवृद्धि हुने कुरामा दुईमत नभएकोले ति मागहरूको समेत यथाशिघ्र सम्बोधन गरिने तयारी रहेको सहप्रवक्ता पोखरेलले जनाए ।

यता समाजले भने आफ्ना मागहरु पूरा गर्नतर्फ चासो नदिएको भन्दै ताला लगाएका थिए । समाजका अध्यक्ष डा. विष्णु पोखरेलका अनुसार आफूहरुले दिएको समयभित्र मागहरुबारे पदाधिकारीबाट ठोस कुरा नआएको कारण देखाउँदै तालाबन्दी गर्न बाध्य भएको बताए । यस्तै, समाजले बाँकी रहेका विभागीय प्रमुखको रोटेसन, शिक्षकहरुलाई दिइने टिचिङ ट्रेनिङ, रिसर्च ट्रेनिङ, फोहोर मैलाको उचित वैज्ञानिक एवं स्वास्थ्यकर व्यवस्थापन, इन्टरनेटसम्बन्धी कार्यदलले बुझाएको प्रतिवेदन अनुरुप कार्य गर्ने लगायतका मागहरु तत्काल पूरा गर्न सकिने जनाएको छ ।