इटहरीः सुनसरीको इटहरीस्थित इलाका प्रहरी कार्यालयले २०७६ सालमा सी.डी.आर.शाखा नै स्थापना गरेर हराएका मोबाइलहरुको खोजी सुरु गरेको छ ।

स्थापनाको एक वर्ष मात्र पुग्दा इटहरी प्रहरीले तीन सय ६४ थान हराएका तथा चोरी भएका मोबाइलहरु फेला पारिसकेको छ । इलाका प्रहरी कार्यालय इटहरीले सी.डी.आर शाखामार्फत् मोबाइल खोजी सुरु गरेपछि जाहेरी दिनेको संख्या पनि बढ्न थालेको छ । २०७६ सालमा अपराध अनुसन्धानमा थप टेवा पुग्ने हेतुले स्थापना भएको सी.डी.आर. शाखामा मोबाइल खोजी मात्र नभएर अपराध अनुसन्धानका सम्पूर्ण पाटो समेटिन्छ । तर, इटहरीवासीले यो शाखालाई हराएका मोबाइल खोज्ने ठाउँका रुपमा बढी चिन्ने गरेका छन् । यो शाखाले स्थापनापश्चात् चौतर्फी तारिफा बटुलेको छ । हालसम्म हराएका कुल तीन सय ६४ थान मोबाइल यो शाखाले विभिन्न अनुसन्धानबाट फेला पारेको छ । हराएर जाहेरी दिएका मोबाइलको सम्बन्धमा सी.डी.आर. शाखाबाट खोजी हुने गरेको इलाका प्रहरी कार्यालय इटहरीका प्रहरी नायवउपरीक्षक (डि.एस.पी) अर्जुन केसीले जानकारी दिए ।

151299486_1112375999210010_3160606831573170670_n (1) 1

‘२०७६ सालमा स्थापना भएको सी.डी.आर. शाखामार्फत् हालसम्म तीन सय ६४ थान मोबाइल फेला परिसकेको छ । म आएपछि पनि दुई पटक हामीले मोबाइल फिर्ता गरेका छौँ । गत असोजमा हामीले ३६ जनाको मोबाइल फेला पारेर फिर्ता गरेका छौँ । आज हामी ३० जनाको मोबाइल फेला पारेर फिर्ता गर्दैछौँ’, उनले भने । केसीका अनुसार चोरी भएका मोबाइल भने फिर्ता हुँदैनन् । ‘हामी चोरी भएका मोबाइल फिर्ता गर्दैनौँ । हामी कहाँ हराएका भनेर जाहेरी आएका मोबाइलहरु सी.डी.आर. शाखामार्फत् खोजी गरेर फिर्ता गर्छौँ’, उनले भने । प्रहरीले ‘डिजिटल डिभाइस’ हरुको प्रयोग गरेर हराएका वा चोरी भएका मोबाइलहरु फेला पार्ने गरेको छ । ‘हामी विभन्न ‘डिभाइस’ हरुको प्रयोग गरेर मोबाइलहरुको खोजी गर्छौँ । कसरी खोजी गर्छौँ भनेर त मैले भन्न मिल्दैन । टेक्निकल कुराहरुभित्र छिरेर दुई÷तीन वटा अभ्यासहरु गर्नुपर्ने हुन्छ हामीले । ती नै अभ्यासहरुबाट हामीले मोबाइल पत्ता लगाउँछौँ’, उनले भने । यसरी हामीले जानीजानी वा अन्जानमा हराएका मोबाइलहरुको खोजीमा इटहरी प्रहरीले छोटो समयमा नै फेला पार्न पनि सक्छ । कतिपय मोबाइलहरु भने विभिन्न कारणले एक वर्षसम्म पनि फेला नपरेको इटहरी प्रहरीको तथ्याङ्कमा उल्लेख छ ।

‘अब हामी कुनै फोन छिट्टै पनि फेला पार्छौँ । कुनै फोन फेला पार्न हामीलाई धेरै समय पनि लाग्छ । हामीले छोटो समय भनेको एक महिनाभित्र पनि फोन फेला पारेका छौँ । कुनै फानचाहिँ एक वर्षपछि फेला परेको रेकर्ड पनि हामीकहाँ छ’, उनले भने । यसरी इटहरी प्रहरीले दिनानुदिन हराएका मोबाइलहरु फेला पार्न थालेपछि इटहरीवासीसँगै आसपासका क्षेत्रबाट जाहेरी दिन इटहरीमा आउनेको संख्या पनि उल्लेख्य मात्रामा बढेको इलाका प्रहरी कार्यालयका डिएसपी केसी बताउँछन् । ‘जाहेरीकै कुरा गर्ने हो भने हामीकहाँ दैनिक कम्तिमा एउटा जाहेरी आउने गरेको छ । सोही अनुसार हामी खोजी कार्यलाई पनि तिव्रता दिन्छौँ’, उनले भने । हराएको मोबाइलको इन्टरनेसनल मोबाइल इक्युप्मेन्ट आइडेन्टिटि ( आइ.एम.आई) नम्बर भए फेला पर्ने सम्भावन बढी हुन्छ । जाहेरीकै क्रममा त्यही नम्बर प्रहरीले लिने गर्छ र त्यसकै आधारमा खोजी गर्ने गर्दछ ।

फिर्ता लानेको संख्या न्यून
सी.डी.आर.शाखामार्फत् मोबाइल खोजी गरेर फेला पारेपनि मोबाइल फिर्ता लानेको संख्या भने इटहरीमा न्यून छ । विभिन्न समयमा हराएका मोबाइलको आधा पनि सम्बन्धित धनीले फिर्ता लाने गरेका छैनन् । केसीका अनुसार भेटिने तुलनामा अत्यन्तै कम मानिसले मात्र मोबाइल फिर्ता लैजाने गरेका छन् । ‘निवेदन दिनेमध्ये केही कमको मोबाइल हामी फेला पार्छौँ । झन् फेला परेका मोबाइल सम्बन्धित धनीले लिन आउने क्रम अत्यन्तै कम छ । हामी केही समयको अन्तरालमा मोबाइल फिर्ता गर्छौँ । हामीले सम्पर्क गर्दा पनि सम्बन्धित धनीहरु इटहरीबाहिर हुने गरेकोले फिर्ता लानेको संख्या न्यून भएको हो । किनभने कहाँबाट इटहरी आउनुभएको हुन्छ, यहाँ जाहेरी दिएर घर जानुहुन्छ । त्यसैले फिर्ता लैजानेको संख्या निक्कै कम भएको हो’, उनले भने ।

योभन्दा पहिला असोजमा इलाका प्रहरी कार्यालय इटहरीले अन्तिम पटक मोबाइल फिर्ता गरेको थियो । त्यो बेला पनि ३६ जनाको मोबाइल फेला परेकोमा सात÷आठ जनाले मात्र मोबाइल फिर्ता लगेका थिए । शुक्रबार पनि ३० जनाको मोबाइल फेला परेकोमा ८ जनले मात्रै फिर्ता लगेका छन् । जाहेरी दिए पनि मोबाइल फिर्ता लिन अधिकांश नआउने भन्दै इटहरीका डिएसपी अर्जुन केसीले समयमै इटहरी प्रहरीलाई सम्पर्क गर्न मोबाइलधनीहरुलाई अनुरोध गरेका छन् ।