इटहरीः जीवनमा कसैलाई मन पराइन्छ भने उप्रति कहिलेकाहीँ घुर्किपन पनि आउन सक्दछ, किनकि जस्लाई मनदेखि माया गरिन्छ , त्यो माया प्रगाढ बनाउनको लागि यस्ता किसिमका व्यवहार पनि आवश्यक हुने गर्दछ ।

यस्तै भावमा भर्खरै मात्र प्रदीप अधिकारीको लयमा सिद्धार्थ आलेमगर र सन्जय पुलामीको प्रस्तुति “पिरति छ धेरै“ बोलको गीत सार्वजनिक भएको छ । धादिंग जिल्लामा जन्मिएर हाल काठमाडौँलाई आफ्नो साङ्गीतिक कर्मथलो बनाइरहेका प्रदीपले यसअघि पनि थुप्रै गीतहरु बजारमा ल्याएर असंख्य श्रोता तथा दर्शकहरुको मन जितिसकेका छन् । उनी पहिलेका आफ्ना प्रस्तुतिलाई झैँ यस प्रस्तुतिलाई पनि आफ्ना श्रोता तथा दर्शकको तर्फबाट साथ प्राप्त हुने कुरामा विश्वस्त रहेका छन् । “पिरति छ धेरै“ बोलको गितमा सिद्धार्थ आलेमगर, सन्जय पुलामी र मेनुका परियारको सुमधुर स्वर सुन्न सकिन्छ ।

प्रदीप अधिकारीको लय र रमेश बी.जी. को शब्दमा सजिएको यस गीतको म्युजिक भिडियोलाई दीपेन्द्र तिमल्सिनाले निर्देशन गरेका छन् । नेपाली गीत संगितको म्युजिक भिडियो निर्देशनको पाटोमा निर्देशक दीपेन्द्र सफल मानिन्छन् । यस गीतको म्युजिक भिडियोमा बिमल अधिकारी, जीवेशसिंह गुरुङ्ग, गरिमा शर्मा र बिना विश्वकर्माको अभिनय देख्न सकिन्छ । भिडियोलाई छायाँकन, नवराज उप्रेति लगायतले गरेका हुन् भने सम्पादन मनोज कार्कीको रहेको छ ।