इटहरीः बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानका चिकित्सा तथा दन्तचिकित्सा शिक्षण कल्याण समाजले उपकुलपति प्रा. डा. ज्ञानेन्द्र गिरी तथा शिक्षाध्यक्ष प्रा. डा. गुरूप्रसाद खनालको कार्यकक्षमा लगाएको ताला खोलेका छन् ।

आज आइतबार समाजका साथ प्रतिष्ठानका उपकुलपति, शिक्षाध्यक्ष, रजिष्ट्रार प्रा. डा. मोहनचन्द्र रेग्मी तथा अस्पताल निर्देशक प्रा. डा. गौरीशंकर साह गरी चारै पदाधिकारीहरूबीच भएको वार्तामा सहमति भएपछि समाजले ताला खोलेको हो । वार्ताबाट फ्याक्ल्टीहरुको बढुवा सम्बन्धमा एक महिनाभित्र बढुवाको विज्ञापन प्रकाशित गर्ने सहमति कायम भएको छ । यस्तै, जोखिम भत्ता फागुन १४ गतेभित्र वितरण गर्न सुरु गर्ने र अन्य मागहरुका सम्बन्धमा एक हप्ताभित्र तार्किक निष्कर्षमा पुग्नेगरी कार्य गर्नेसमेत सहमति भएको छ । प्रतिष्ठानका उपकुलपति प्रा. डा. गिरी तथा शिक्षाध्यक्ष प्रा. डा. खनाल प्रतिष्ठानका चिकित्सकहरूको बढुवा प्रक्रियालगायत अन्य कार्यको लागि काठमाडौँ पुगेका थिए ।

उपकुलपति गिरी काठमाडौँमा नै भएको बेला मन्त्रालयलयमा सबै कार्यहरू सकारात्मक भइरहेको बताउँदै समाजलाई ताला नलगाउन आग्रह गर्दासमेत पूर्वनिर्धारित कार्यक्रम बताउँदै समाजले गत बुधबार उपकुलपतिको कक्षमा ताला लगाएका थिए । वार्तामा सहमति भएपछि हाललाई आन्दोलनका सम्पूर्ण कार्यक्रमहरु फिर्ता गरीएको समाजका अध्यक्ष डा. विष्णु पोखरेलले जानकारी गराए । अन्य मागहरू एक सातामा पूरा गर्ने सहमति भएपछि काम गर्नका लागी उर्जा मिलेको उनले बताए । सहमति पत्रमा प्रतिष्ठानका चारैजना पदाधिकारीले हस्ताक्षर गरेका थिए भने समाजका तर्फबाट अध्यक्षसहित महासचिव सूर्यप्रसाद रिमाल, सहसचिव सन्दीप साह, कोषाध्यक्ष अन्जनीकुमार यादव, सदस्य मनोज भट्टराई, निर्मलप्रसाद साह र लक्ष्मण खनालले हस्ताक्षर गरेका छन् ।