काठमाडौँः नेपाली कांग्रेसका युवा नेता तथा पूर्वमन्त्री नवीन्द्रराज जोशीको स्वास्थ्य अवस्थामा क्रमिक सुधार हुन थालेको छ ।
शुक्रबार बिहान मष्तिष्कघात भई नर्भिक अस्पतालमा भर्ना भएका नेता जोशीको यहाँस्थित आइसियूको भेन्टिलेटरमा राखेर उपचार जारी राखिएको छ । शनिबारको तुलनामा उनको स्वास्थ्य अवस्था आइतबारसम्ममा निकै सुधार देखिएको उपचारमा संलग्न न्यूरो सर्जन डा. राजीव झाले जानकारी दिए । झाका अनुसार शनिबारभन्दा आइतबार नेता जोशीले दाहिने हात र खुट्टा बढी चलाएका छन् । जोशीलाई आइतबार बिहानदेखि नै बेहोस् पार्ने औषधि दिन छोडिएको छ ।
तर, पनि उनले आँखा भने खालेका छैनन् । यस्तै, आइतबार जोशीको सिटी स्क्यान पनि गरिएको छ । जसअनुसार उनको टाउकोमा जमेको रगत र रक्तमिश्रित पानीसमेत लगभग सफा भएको पाइएको छ । ‘उहाँको अवस्था अझै खतरामुक्त भने छैन ।’ डा. झाले भने–‘उहाँको अहिलेको अवस्थालाई जटिल, तर सुधारोन्मुख भन्नुपर्छ ।’