काठमाडौँः अब नेपालीले क्यान्सर उपचारका लागि विदेशका अस्पताल धाउनु नपर्ने भएको छ ।

स्वदेशमा नै गुणस्तरीय क्यान्सर उपचार सेवा दिने ध्येयले झापाको बिर्तामोडमा स्थापित ‘पूर्वाञ्चल क्यान्सर अस्पताल’ पूर्ण रूपमा सञ्चालनमा आएसँगै क्यान्सर उपचारका क्षेत्रमा ऐतिहासिक सफलता मिलेको हो । यसका लागि आधुनिक भौतिक पूर्वाधार, आवश्यक उपकरण तथा जनशक्ति अस्पतालमा रहेको छ । बीएन्डसी अस्पताल परिसरमा ६०० करोड रुपैयाँको लगानीमा क्यान्सर उपचार सेवाका लागि आवश्यक आधुनिक पूर्वाधार तयार भएको हो । निजी क्षेत्रबाट सञ्चालित सबैभन्दा ठूलो सो क्यान्सर अस्पताल रहेको दाबी गरिएको छ । अस्पतालका कार्यकारी निर्देशक दुर्गा प्रसाईंले भने, ‘‘अब क्यान्सर उपचारका लागि विदेश धाउनु पर्दैन । पूर्वाञ्चल क्यान्सर अस्पतालमा गुणस्तरीय सेवा र सुलभ रूपमा उपलब्ध गराइरहेका छौँ ।’’

३०० शय्याको स्वीकृति पाएको सो अस्पतालमा क्यान्सर उपचारका आगि आवश्यक रेडियोथेरापी, केमोथेरापी, सर्जरीलगायत सम्पूर्ण सेवा उपलब्ध रहेको उनले जानकारी दिए । गत वर्षदेखि नै उपचार सेवा सञ्चालनमा ल्याएको सो अस्पतालले एक वर्षका अवधिमा २६ हजारभन्दा बढीका बिरामीलाई ओपीडी सेवा प्रदान गरेको छ । अस्पतालमा पेट स्क्यान, एमआरआई, सीटी स्क्यानलगायत अत्याधुनिक उपकरण सञ्चालनमा रहेका अस्पतालका जनसम्पर्क अधिकृत प्रमिश गिरीले जानकारी दिए । प्रधानमन्त्री केपी शर्मा ओलीले मंगलबार नवनिर्मित अस्पताल भवनको उद्घाटन गर्ने कार्यक्रम रहेको उनले बताए । कार्यक्रममा अभिनेत्री मनीषा कोइराला, वरिष्ठ कलाकारद्वय मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्यको पनि सहभागिता रहने जनाइएको छ । ‘‘यो क्यान्सर उपचारका लागि सेवा दिने अवसर हो, सेवामा केही कमी रहँदैन । उपकरण उही हो, ज्ञान उही हो । अमेरिका तथा भारत गए पनि पाउने सुविधा यही हो,’’ अस्पतालका कार्यकारी निर्देशक प्रसाईंले भने ।

‘मुस्कुराउँछ नयाँ जीवन...’ भन्ने नाराका साथ गत वर्षदेखि सो अस्पतालले आफ्नो सेवा थालनी गरेको थियो । यसबाट पूर्वाञ्चल क्षेत्रलगायत नेपालबाट क्यान्सर पहिचान तथा उपचार गर्न भारत तथा अन्यत्र देश जानुपर्ने अवस्थासमेत अन्त्य भएको बताइएको छ । ब्रेचीथेरापी, पेट सीटी, गामा क्यामेरा, फोर डी पेटसिटी सिमुलेटर, म्यामोग्राम, ब्रेन ल्याब, न्युरो नेभिगेसन सिस्टम, क्याथ ल्याब, डेक्सा स्क्यानको सेवा बिरामीले पाइरहेका छन् । पाठेघरको मुखको क्यान्सर उपचारमा ब्रेचीथेरापी र स्तन क्यान्सरमा म्यामोग्राम अचुक उपकरण मानिन्छ । शरीरभित्र ट्युमरका क्यान्सरका सेल पहिचान गर्न क्याथ ल्याब उपकरणको सहायता लिइने गरिन्छ । ‘पेट सीटीलाई आई अफ अंकलोजी’ भन्ने गरिन्छ । यो उपकरण काठमाडौं उपत्यकाबाहिर पहिलोपटक अस्पतालले सञ्चालमा ल्याएको छ । सरकारले हालसम्म आफ्ना अस्पतालबाट पेट सीटी सेवा उपलब्ध गराउन सकेको छैन । यसले क्यान्सर रोग पहिचान र उपचार गर्न कोशेढुंगाका रुपमा काम गर्छ । अमेरिका र जर्मनीमा बनेका ती केही उपकरणलाई हालसम्म नेपालका कुनै अस्पतालले सञ्चालनमा ल्याउन सकेका छैनन् । उपकरणको मूल्य मात्र करिब एक अर्बभन्दा माथि खर्च भएको जनाइएको छ ।

‘‘क्यान्सरको उपचार नपाएर कोही अकालमा मृत्यु हुन नपरोस् भन्नका लागि अस्पताल बनाउने सपना देखेको हुँ । करिब ३०० श्ययाको अस्पताल सञ्चालमा आउने छ । झापालाई ‘मेडिकल हब’ बनाउने मेरो सपना छ,’’ उनले भने । भारतमा उनले केही वर्षअगाडि घाँटीको क्यान्सरको उपचार गराएका थिए । ‘‘मेरो पीडाजस्तो अरुले खेप्न नपरोस् । समयमा उपचार पाएर पो म कालको मुखबाट बाँचे । यसपछि सबै कुरा त्यागेर देशलाई क्यान्सरमुक्त बनाउने अभियानको आधार तयार गर्न दृढताले लागेँ,’’ नले आफ्ना भोगाइ सुनाए । पछिल्लो समय मेदान्त तथा राजीव गान्धी क्यान्सर अस्पतालका बिरामीमध्ये तेस्रो संख्यामा नेपाली हुने गरेको बताइन्छ । नेपालबाट ती दुई अस्पतालमा मात्र वर्सेनि कति नेपाली क्यान्सर उपचारमा जान्छन् भन्ने तथ्यांक छैन । जनस्वास्थ्य स्वास्थ्य कार्यालय झापाबाट गत वर्ष मात्र ४०० क्यान्सर रोगीले सिफारिस लिएका थिए । नेपालमा वर्सेनि विभिन्न प्रकारका क्यान्सरबाट मात्र १५ हजारभन्दा बढीको अकालमा मृत्यु हुने प्रक्षेपण विश्व स्वास्थ्य संगठनले गरेको छ । क्यान्सर पहिचान भई उपचारबाट ३० प्रति मात्र जोगिएका छन् । ७० प्रतिशतको अकालमा मृत्यु हुने गर्दछ । विकसित देशमा यो अवस्था ठिक उल्टो रहेको छ ।

मुटु प्रत्यारोपणको तयारी
कार्यकारी निर्देशक प्रसाईंले बीएन्डसी अस्पतालमा मुटु तथा मिर्गाैला प्रत्यारोपणका लागि तयारी भइरहेको जानकारी दिए । उनका अनुसार मुटु उपचार सेवाका लागि ‘क्याथ ल्याब’ सञ्चालनमा आइसकेको छ । पूर्वाञ्चलमा पहिलोपटक ५० करोडल रुपैयाँको लगानीमा सो ल्याब सञ्चालनमा ल्याइएको जनाइएको छ । अस्पतालले मिर्गाैला रोगीका लागि उपचार तथा डायलासिस सेवा प्रदान गरिरहेको छ । बीएन्डसी अस्पतालका निर्देशक प्रा. डा. उमेश शर्माले पूर्वाञ्चल क्यान्सर अस्पतालमा क्यान्सर उपचारका लागि आवश्यक सबै प्रकारका सेवा उपलब्ध रहेको जानकारी दिए । उनले भने, ‘‘क्यान्सर उपचारका लागि विदेश जानु पर्दैन ।’’ -रासस