इटहरीः दक्ष र व्यवसायिक पत्रकार तयार गर्न सोमबारदेखि इटहरी र इनरुवामा एक हप्ते आधारभूत पत्रकारिता तालिम सुरु भएको छ ।

राज्य, समाज र नागरिकप्रति बढी उत्तरदायी क्षेत्र मध्येको एउटा क्षेत्र पत्रकारिता भएकाले गर्दा नेपाल पत्रकार महासंघले भर्खरै पत्रकारितामा प्रवेश गरेकालाई तालिम दिएको हो । नेपाल पत्रकार महासंघले नेपालले देशभरका ११ वटा जिल्लासँग समन्वय गरी तालिम गर्ने क्रममा सुनसरीको इटहरी र इनरुवाबाट सुरु गरेको नेपाल पत्रकार महासंघ केन्द्रीय कार्यालय तालिम व्यवस्थापक संघर्ष पन्तले बताइन् । सञ्चारगृहकै सिफारिस अनुसार तालिममा सहभागी गराइएको जानकारी दिइयो । 

तालिम उद्घाटनका क्रममा इटहरीमा नेपाल पत्रकार महासंघका पूर्वकेन्द्रीय अध्यक्ष धमेन्द्र झा र इनरुवामा जिल्ला समन्वय समितिका प्रमुख गोपालराज भण्डारी प्रमुख अतिथि रहेका थिए । कार्यक्रम नेपाल पत्रकार महासंघ सुनसरी शाखा अध्यक्ष अमर खड्काको सभापतित्वमा भएको थियो । तालिममा इटहरी र इनरुवामा गरी ४० भन्दा बढीको सहभागिता रहेको जिल्ला नेपाल पत्रकार महासंघ केन्द्रीय कार्यालयका तालिम प्रमुख हिरन्य जोशीले जानकारी दिए । तालिम नेपाल पत्रकार महासंघ केन्द्रको आयोजना र जिल्ला शाखाको समन्वयमा भएको हो ।