विराटनगरः आफ्नो प्रदेश भित्रका धार्मिक, सांस्कृतिक एवम् पर्यटकीय क्षेत्रको विकास तथा प्रवद्र्धनका लागि प्रदेश १ सरकार लाग्ने भएको छ ।
आवश्यक प्रचार र पूर्वाधारको कमीका कारण प्रदेश १ का कैयौँ सम्भावना भएका पर्यटकीय एवम् धार्मिकस्थल छायामा परेकाले प्रदेश १ सरकार तिनीहरूको प्रवद्र्धनमा जुटेको छ । प्रदेशका पर्यटकीय सम्भावना बोकेका स्थानको संरक्षण एवम् प्रवद्र्धन गर्न सरकारले एव वर्षअघि सय वटा नयाँ पर्यटकीय गन्तव्यको घोषणा गरेको थियो । यतिखेर देशमा कोरोना महामारीको कहर घटेको देखिएकाले प्रदेश सरकारले आन्तरिक तथा बाह्य पर्यटक भित्र्याउने योजना बनाएको हो । प्रदेश नं १ का केही पर्यटकीयस्थलमा सोलुखुम्बुको गोक्यो ताल, इलामको माईपोखरी र सुनसरीको कोसी टप्पु आरक्षण क्षेत्रसहित १३ वटा स्थान परेका छन् । सरकारले यी स्थानलाई पनि प्राथमिकतामा नै राखेर बिस्तारै अन्य स्थानको खोजी गरी विकास गर्ने लक्ष्य लिएको छ । नयाँ छनोट भएका पर्यटकीय गन्तव्यहरू निजी क्षेत्र, स्थानीय सरकार र स्थानीयको सहयोगमा पर्यटनको पूर्वाधार निर्माण गरी घुम्न योग्य बनाइनेछ । यी पर्यटकीय गन्तव्यको विकासमा प्रदेश नं १ सरकारले निर्णय गरेकै वर्षबाट बजेट पनि निकासा गरिरहेको छ ।
यसका लागि सरकारले नयाँ गन्तव्य प्रवद्र्धन गर्न ५० करोड रुपैयाँ विनियोजन गरेको थियो । यी गन्तव्यस्थलमध्ये इलामको देउमाई नगरपालिका पनि परेको छ । सो आयोजनाका लागि एक करोड ४४ लाख रुपैयाँको लागत अनुमान गरिएको छ । जसका लागि मन्त्रालयको लागत ९४ लाख र साझेदार लागत ५० लाख रुपैयाँ रहेको छ । आयोजनाका लागि सरकारले ६ अर्ब ८० करोड विनियोजन गरिएको मन्त्रालयले जनाएको छ । यस योजना अन्तर्गत प्रदेश नं १ का १४ जिल्लामा २८ वटा त्यस्ता स्थानको पहिचान भई काम गर्ने सरकारको योजना छ । दोस्रो सुन्दरहरैँचा नगरपालिकाअन्तर्गत हसिना सिमसार संरक्षण तथा पार्क निर्माणमा सरकारले चार करोड ४५ लाख र स्थानीय पालिकाले दुई करोड ४५ लाख गरी कुल सात करोडको लागतमा तीन वर्षभित्रमा यी स्थानहरूको विकास गर्ने र यसका लागि आवश्यक डिपिआर तयार भइरहेको सुन्दरहरैँचा नगरपालिकाका प्रमुख शिवप्रसाद ढकालले जानकारी दिए । तेस्रो नम्बरमा रहेको बेलबारी नगरपालिकाअन्तर्गतको धनपालगढी पर्यटकीयस्थलका लागि पनि सरकारले चार करोड ५२ लाख र स्थानीय सरकारको दुई करोड ४२ लाख गरी ६ करोड ९५ लाखको लागतमा दुई वर्षभित्रमा धनपालगढीको निर्माण सकिने गरी योजना बनाइएको छ ।
विराटनगरको उत्तरपूर्वमा पर्ने विगत कसेनी गाविस र हाल बेलबारी नगरपालिकामा पर्ने एउटा भग्नावशेषलाई राजा धर्मपालगढी भनेर आजसम्म चिनाइँदै छ । यसलाई सेनवंशी राजाहरूभन्दा पूर्वका बङ्गालका पालवंशीय राजाकै पालाको गढी भनेर विद्वानहरुले आँकलन गरेको साहित्यकार दधिराज सुबेदीले बताए । हरेक वर्ष वैशाख १० गते धनपालगढीमा मेला लाग्दै आएको छ । चारैतिर मानव बस्तीले घेरिएको ३५ बिघा क्षेत्रफलमा फैलिएको सानो जङ्गलभित्र धनपाल राजाको ऐतिहासिक दरबारको अवशेष बाँकी रहेको छ । धनपाल राजाले खनेका नौ पोखरीमध्ये तीन पोखरी अझै बाँकी रहेको मानिएको गढीमा रहेको राजा धनपालको मन्दिरलाई विशेषगरी यहाँका थारू समुदायले पुज्ने गरेका छन् । विराटनगरबाट २१ किलोमिटर उत्तरपूर्वमा महेन्द्र राजमार्गको बेलबारीबाट आठ किलोमिटर दक्षिणमा रहेको धनपालगढीमा रहेको मन्दिरमा हात्तीमा चढेका राजा धनपालको मूर्ती र ठूला नौ वटा घण्टी चोरी भइसकेको छ । सुनसरीको इटहरीमा निजी स्तरबाट निर्माण गरिएको वाटर पार्क यस क्षेत्रका धेरै पर्यटकहरूको आकर्षणको केन्द्र बनेको छ ।
आधुनिकता र विज्ञानसँगै निर्माण गरिएको पूर्व क्षेत्रको केन्द्र मानिएको सुनसरीको इटहरी नगरपालिकाभित्र तरहरास्थित ‘इपी ल्यान्ड एन्ड वाटर पार्क’ को निर्माण कार्य सम्पन्न भएपछि आमनागरिकका लागि सञ्चालनमा आएको छ । पूर्वप्रहरी अधिकृतहरू प्रहरी अतिरिक्त महानरीक्षक (एआइजी) कृष्ण बस्नेत तथा प्रहरी नायब महानिरीक्षक (डिआइजी) ज्ञानविक्रम शाह, इटहरी उद्योग वाणिज्य सङ्घका अध्यक्ष भीमबहादुर पौडेल र काठमाडौँको ह्विपी ल्यान्ड एम्युजमेन्ट वाटर पार्कका सञ्चालक जगतबहादुर बस्नेतको संयुक्त लगानीमा पार्क निर्माण गरिएको छ । कुल ३० करोड रुपैयाँको लागतमा ६ बिघा क्षेत्रफलमा निर्माण गरिएको सो पार्कमा पाँच हजार मानिस अट्ने क्षमता रहेको छ । अघिल्लो चैत महिनामै सञ्चालनमा आउने भनिएको सो पार्क कोभिड–१९ का कारण निर्माणमा ढिलाइ भएको थियो । -रासस